सर्लाही सदरमुकाम बाहेक कफ्र्यु आदेश खुकुलो हुँदै

408 Shares

सर्लाहीमा जारी कफ्र्यु आदेशलाई क्रमवद्ध रुपमा खुकुलो बनाउँदै लैजाने निर्णय भएको छ ।बिहीबार जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा परिस्थितिको आधारमा नागरिकको जनधनको सुरक्षाका लागि बुधबारदेखि जिल्लाभर जारी गरिएको कफ्र्यु आदेशलाई खुकुलो पार्दै लैजाने निर्णय गरेको हो ।
बैठकले सदरमुकाम मलंगवामा शुक्रबार राति ८ बजेसम्म नै पूर्वमा झिम नदी,पश्चिममा बागमती नहर,उत्तरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही र दक्षिणमा नेपाल–भारत सीमाभित्र कफ्र्यु आदेशलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सदरमुकाम मलंगवाबाहेक अन्य ठाउँमा शुक्रबार बिहान ५ बजेदेखि अर्को आदेश नहुँदासम्म कफ्र्यु आदेश हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । अत्यावश्यक कार्यका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ः३० बजेसम्म आवत जावत खुला गर्ने तथा तरकारी पसलहरु खुल्न दिने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
“जेन जी”पुस्ताको प्रदर्शन रोकिएसँग जिल्लाको अवस्था सामान्य उन्मुख छ।तर बजार र यातायात सञ्चालनमा नआउँदा भने स्थानीयलाई समस्या परेको छ।मोटरसाइकल र टेम्पु संचालन भइरहे पनि भाडाका सवारी साधनहर संचालन हुन सकेका छैनन्।बजारमा फाट्टफुट्ट मात्रामा पसल खुलेका छन्।बैंक तथा वित्तीय संस्थासमेत बन्द रहँदा सेवाग्राहीलाई मार परेको छ ।
आगलागीबाट ठूलो क्षति बेहोरेका लालबन्दी,हरिवन,बागमती,ईश्वरपुर,हरिपुर र बरहथवा लगायत पालिका र वडा कार्यालयले तत्काल सेवा संचालन हुन नसक्ने सूचना जारी गरि सकेका छन्।आगलागीबाट पालिकाको भवन,सवारी साधन र उपकरण नष्ट भएकाले के–कसरी सेवा सूचारु गर्ने भन्ने अन्यौल रहेको जनप्रतिनिधिले बताएका छन् ।
जिल्लामा कफ्र्यु आदेश जारी नै रहेकाले आगलागी तथा तोडफोड नभएका सरकारी कार्यालय तथा निकाय पनि संचालनबारे अन्यौलता नै छ।जिल्लाका सुरक्षा निकाय तत्काल सुरक्षा प्रवन्ध मिलाउनमा नै व्यस्त छन्।भने नेपाली सेना तैनाथ भएर सुरक्षा प्रदान गरिरहेको छ ।“जेन जी”पुस्ताके आन्दोलनका कारण जिल्लामा के कति र कहाँ तोडफोड तथा आगजनी भएको छ भन्ने विवरण तयार हुन बाँकी रहेको बुझिाएको छ ।

सम्बन्धित समाचार