सोमबारबाट मतदान केन्द्रमा कर्मचारी र मतदान सामग्री पठाउन सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२७ गते   २३७४ पटक हेरिएको

बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनका लागि सर्लाहीमा सोमबाटबाट मतदान केन्द्रहरुमा कर्मचारी र मतदान सामग्री पठाउन सुरु गरिएको छ । देशभर मै सबै भन्दा धेरै २० स्थानिय निकाय रहेको सर्लाहीमा जिल्लाको सदरमुकामबाट टाढा रहेका १० वटा पालिकाका मतदान अधिकृतहरुलाई सोमबारबाट मतपत्रबाहेकका अरु सबै मतदान सामग्री जिम्मा लगाएर पठाउन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले जानकारी दिनु भयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मलंगवाबाट नजिकका बाँकी १० पालिकामा कर्मचारी खटनपटन तथा मतदान सामग्री मंगलबार मात्रै पठाइने मुख्य निर्वाचन अधिकृत पियाले बताउनु भयो । जिल्लाका ३ सय १८ वटा मतदानस्थल अन्तर्गतका ५ सय ९९ वटा मतदान केन्द्रमा खटिने कर्मचारीहरुको छनौट भइसकेको र ती मतदानस्थल तथा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी र कार्यालय सहयोगी गरी करिब ३ हजार कर्मचारी परिचालन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार जिल्लाका दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइने भएको छ । 
जिल्लाको लालबन्दी नगरपालिका २, जुटपानीमा रहेको नवजीवन माध्यमिक विद्यालयको ‘क’ र ‘ख’ मतदान केन्द्रमा महिलाहरु मात्रै कर्माचारीहरु खटाइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख दिवाकर भुजेलले जानकारी दिनु भयो । उहाँका अनुसार विद्यालयको ‘क’ मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा कार्यरत प्रशासकीय अधिकृत उर्मिला अधिकारीलाई खटाइएको छ । भने त्यहाँ सहायक मतदान अधिकृतमा सुनिता कुमारी मगर, सहायक कर्मचारीमा रमा खतिवडा, चन्द्रकला कुमारी र कार्यालय सहयोगीमा लेखमाया थापा रहेका छन् । त्यस्तै, जुटपानी माविकै ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा सर्लाही जिल्ला अदालत सर्लाहीमा कार्यरत प्रशासकीय अधिकृत मन्जु ज्ञवाली, सहायक मतदान अधिकृतमा निला कुमारी निरौला, सहायक कर्मचारीमा लक्ष्मी कोइराला, कविता खतिवडा र कार्यालय सहयोगीमा अन्जना कुमारीलाई खटाइएको हो ।
यि दुई मतदान केन्द्रमा महिला प्रहरीहरु मात्रै खटाउने तयारी भईरहेको सर्लाहीका प्रमुख  जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनु भयो । यस्तै, जिल्लामा एक दर्जन बढी मतदान केन्द्रमा महिला कर्मचारीलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको प्रजिअ गौतमले बताउनु भयो ।
जिल्लाका मतदानस्थल र मतदान केन्द्रमा खटिने कर्माचारीहरुलाई सोमबारबाट नियुक्ति दिएर मतदान केन्द्रमा पठाउन थालिएको छ । भने जिल्लामा १ हजार ८ सय स्वंयसेवक पनि परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका सबै मतदानकेन्द्रहरुमा मतपत्रबाहेक अन्य निर्वाचन सामग्री मंगलबारसम्म पुगी सक्ने बताएको छ ।
मतपत्र भने बढी संवेदनशील हुने भएकाले विकट मतदान केन्द्रहरुमा २८ गते नभए अधिकांश ठाउँमा २९ गते मात्रै प्रहरीको साथ लगाएर पठाइने निर्वाचन अधिकारी भुजेलले जानकारी दिनुभयो । निर्वाचनलाई लक्षित गर्दै जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सोमबारबाट जनशक्ति खटनपटनलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले बताउनु भयो ।
जिल्लामा ४ लाख ७४ हजार ४ सय ३९ जना मतादताले बैशाख ३० गते जिल्लाका ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरि २० वटा स्थानिय निकायमा १ हजार ४० जना जनप्रतिनिधिका लागि मतदान गर्नेछन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech