Close This

सर्लाहीको चुनावी प्रचार दिनमा घरदैलोमा राती मतदातालाई आर्थिक प्रलोभन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२८ गते   १८१९ पटक हेरिएको

स्थानिय निकायको निर्वाचन बैशाख ३० नजिकिर्दैँ गर्दा सर्लाहीका उम्मेदवारहरु चुनाव प्रचार प्रसारका साथै मतदातालाई प्रलोभनमा पार्न व्यस्त देखिएका छन् । मंगलबारराती १२ बजेबाट मौन अवधि सुरु भएपनि जिल्लाका विभिन्न राजनैतिक दलका नेता तथा उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरु मतदातालाई भौतिक,आर्थिक र दैनिक जीवनका विषयलाई लिएर मतदाताहरुलाई प्रलोभनमा पार्न व्यस्त रहेका हुन ।
 उम्मेदवारहरु अहिले आफ्नो अभियानलाई  गाउँ तथा टोलमा केन्द्रीत बनाएका मात छैन विपन्न परिवारका मतदाताहरुलाई चामल देखि आर्थिक र घरबार विहिन भएका मतदातालाई घर बनाई दिने सम्मका आश्वासन लिएर घरदैलोमा व्यास्त रहेका स्वतन्त्र रुपमा चुनावी रिपोर्टिङमा रहेका विभिन्न संघ÷संस्थाहरुले बताएका छन् ।
संघिय नेपालको संघिय संरचना पछि हुन लागेको दोस्रो स्थानिय निकायको निर्वाचनमा आफ्नो जीत निकाल्न राजनैतिक दलका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरु जस्तोसुकै कदम पनि चाल्न पनि तयार रहेका सामाजिक अभियान्ता थर्ड एलान्स सर्लाहीका प्रतिनिधि मुकेश मिश्रले बताउनु भयो । उहाँका अनुसार जिल्लाका सबै राजनैतिक दलहरुका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारुहरुले आचारसंहिताको वेवास्था गर्दै मौन अवधिमा पनि मतदाताहरुलाई प्रलोभनमा पार्ने काम गरि रहेका छन् ।
रोजगारीको सिलसिला तथा अध्यायनको सिलसिलामा गाउँघर भन्दा बाहिर रहेका मानिसहरु चुनावमा भोंट हाल्न गाउँ,घर फर्किएका छन् । जसका कारण पनि चुनावी चहलपहल बढेको जानकारुहरुले बताएका छन् ।
जिल्लाका स्वतन्त्र उम्मेदवार तथा विभिन्न दलका उम्मेदवारहरु जनताको घरघरमा गएर भोंट माग्नेदेखि लिएर कार्यकर्ता बैठक,सभा,सम्मेलन गर्नुका साथै मतदाताहरुलाई प्रलोभनमा पार्न विभिन्न किसिमका आश्वासन बोकेर नागरिकहरुको घरदैलोमा गएका छन् ।
कोरोनाको समयमा मास्क तथा कोरोना सुरक्षा कबज समेत लिएर गाउँ नपस्ने राजनैतिक दलहरु अहिले दिउँसो भोंट माग्ने र साँझ परेपछि चामल,दालका साथै आर्थिक प्रलोभन लिएर गाउँ पस्ने गरेका स्थानिय जानकार कपिल साहले बताउनु भयो । उहाँका अनुसार जिल्लाका सबै राजनैतिक दलका उम्मेदवारहरुका साथै स्वतन्त्र उम्मेदवारहरु हरेक साँझमा नागरिकको घरदैलोमा एउटा न एउटा आश्वासन लिएर  पुग्ने गरेका छन् ।
जिल्लाका राजनैतिक दलका नेता कार्यकर्ताहरु तथा दलिय र स्वतन् उम्मेदवारहरु राति राति आफ्ना कार्यकर्ताहरुलाई मतदाताहरुको घरमा पैसाको प्रलोभन लिएर भोंट किन्न जाने गरेका इन्सेक नेपाल सर्लाहीका प्रतिनिध बुधन साहले बताउनु भयो । उहाँका अनुसार साँझ पर्ना साथ उम्मेदवारहरुले परिचालन गरेका आफ्ना सर्मथकहरुका साथै कार्यकर्ताहरु दलित, विपन्न तथा पिछडा समुदायको बस्तीमा पुगेर प्रत्येक मतदाताको घरमा दाल,चामल,माछा, मासु,मदिरा बाँड्नुको साथै भोट किनबेच समेत गर्ने गरेका छन् । त्यसका साथै घरको मुल व्यक्ति(अभिभावक)लाई प्रति मतदाता रु २ हजारदेखि ५ हजार समेत बाँडेर भोट कनिबेच हुने गरेको छ ।
पैसासहित सित्तैमा माछा, मासु,मदिरा पाउने भएपछि विपन्न,दलित तथा पिछडा समुदायका जनताहरुलाई उम्मेदवारले खुलेआम रुपमा ठगिरहेका स्थानीय बुद्धिजीवीहरुले बताएका छन् ।गाउँघरमा अहिले उम्मेदवारका सर्मथक तथा कार्यकर्ताहरु आफ्नो पक्षको जनतालाई विपक्षीले किन्न सक्छ भनेर रातभर जाग्राम बसेर निगरानी बढाएका छन् ।
मतदातालाई आर्थिक तथा अन्य प्रलोभनमा पारेर चुनाव जितिन्छ भन्ने राजनैतिक दलका नेताहरुको मनसाय छ भने निर्वाचनको समयमा मासुभात,पेट्रोल,पैसा र मदिरा पाइन्छ भन्ने मतदाताको मनसाय रहेको जानकारहरु बताउछन् । एकदिन मतदाताको पछाडी लागेर ५ वर्ष आफ्नो पछाडी मतदाता घुमाउन पाउने भएपछि राजनैतिक दलहरुले सान,नाम,दण्ड भेद सबै प्रयोग गर्ने गरेका बुद्धिजीवीहरुको भनाइ छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech