सर्लाहीको बरहथवा नगरपालिका १७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिनुभयाे । उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्बदलिय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने छ ।
बरहथवा नगरपालिका १७ मा जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले आरोप लगाएका छन् । उनिहरुले निर्वाचन अधिकृतको कार्यालय बरहथवामा दर्ता गराएको संयुक्त लिखित निवेदनमा जसपाका उम्मेद्वार रामविश्वास राय लगायतले नेकपा माओवादी केन्द्रका वीरेन्द्र राय लगायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख गरिएको छ ।
वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा जम्मा १ हजार ९ सय ५४ मतदाता भएपनि त्यहाँ शुक्रबार साँझसम्म ३ सय ७२ मत मात्र खसेको थियो । १७ नम्बर वडाको विवादका कारण बरहथवा नगरपालिकाको मतगणना हुन सकेको थिएन । बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले प्रचलित ऐन नियम अनुसार सर्बदलिय बैठक राखेर साे वडामा पुनः मतदानको मिति तय गरिने छ।