सर्लाहीको लालबन्दी नगरपालिकाको नगर प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । बैशाख ३० गते सम्पन्न स्थानिय निकायको निर्वाचनमा लालबन्दी नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसका बासुदेव अधिकारी र उप प्रमुखमा नेपाली कांग्रेस कै कल्पना पाख्रिन विजयी भएका हुन ।
कांग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार अधिकारीले ९ हजार ५ सय ६१ मत ल्याएर विजयी भएका हुन भने उप प्रमुख पदकी उममेदवार पाख्रिनले ८ हजार ८ सय ५० मत ल्याएर नगर प्रमुख र उप प्रमुखमा विजयी भएका निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले जनाएको छ ।
नगर प्रमुखमा विजयी भएका अधिकारीले नेकपा(एमाले)को तर्फबाट नगर प्रमुख पदका उम्मेदवार गोविन्द महतलाई १ हजार ६ सय ७८ मतान्तरले पराजित गरेका हुन । निकट्तम प्रतिस्पर्धी नेकपा(एमाले)का महतले ७ हजार ८ सय ८३ मत ल्याएका छन् । उपप्रमुखतर्फ कांग्रेसकै पाख्रिनले एमालेकी सनसरिमाया थिङलाई ६ सय ९१ मतान्तरले पराजित गरेकी नेपाली कांग्रेसका युवा नेता ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिनु भयो । पाख्रिनकी निकट्मत प्रतिस्पर्धी थिङले ८ हजार १ सय ५९ मत ल्याएकी थिइन ।
लालबन्दी नगरपालिकाका १७ वटा वडामध्ये नेपाली कांग्रेसले ७, नेकपा(माओवादी केन्द्र)ले ६, नेकपा(एमाले)ले ३ स्थानमा जित निकाल्दा वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। वडा नं. १ मा स्वतन्त्र उम्मेदवार,वडा नम्बर३, ४, ५, ७, ९, १० र १३ मा नेपाली कांग्रेस तथा वडा नं. २, ८, १२, १५, १६ र १७ मा नेकपा(माओवादी केन्द्र) विजयी हुँदा वडा नम्बर ६, ११ र १४ मा नेकपा(एमाले)का उम्मेदवारहरुले जीत निकालेका छन् ।
२०७४ सालको स्थानिय निकायको निर्वाचनमा नगर प्रमुख उप प्रमुख सहित ४ वटा वडा नेकपा)एमाले)ले जितेको थियो भने नेकपा(माओवादी केन्द्र)ले ९ वटा वडा र नेपाली कांग्रेसले ४ वटा वडामा जित निकालेको थियो । करिब ३० वर्ष देखि कम्युनिष्ट पार्टीले विर्ता समालेको लालबन्दी यस पटक नेपाली कांग्रेसको पोल्टोमा परेको छ ।