शंखर पहाडी(गौरब)
सर्लाहीबाट दैनिक करोडौँ रकमको अवैध सुर्तीजन्य पदार्थ भारतबाट नेपाल भित्रिने गरेको पाइएको छ । भन्सार छलेर दैनिक रुपमा करोडौँ रकम बराबरको पानपराग,रजनीगन्धा, तुलसी,काँचो सुर्ती तथा विभिन्न ब्राण्डका गुटखा एवम् पान मसालाहरु खुला सीमानाकाहरुबाट चोरीपैठारी गरी नेपाल भित्रिने गरेको पाइएको छ ।
जिल्लामा रहेका पान पसल,किराना पसलहरुमा पाइने सुर्तीजन्य पदार्थ गुटखा तथा पान मसालाहरुको जिल्लामा कुनै उत्पादन गर्ने उद्योग छैन । जसबाट पनि अधिकांश गुटखा तथा पान मसालाहरु भारतबाट नेपाल भित्रिने गरेको स्पष्ट हुन्छ । सुर्तीजन्य पदार्थबाट बनेको गुटखा तथा पान मसालाहरु सेवन गरेर नेपालमा मृत्यु हुनेको संख्या बढी रहेको विभिन्न तथ्यांकहरुमा उल्लेख छ ।सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष करिब २७ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांकहरुमा स्पष्ट उल्लेख छ ।
मधेश प्रदेशका जिल्लाहरुमा अत्याधिक सुर्तिजन्य पर्दाथको प्रयोगका कारण मुखको क्यान्सर हुनेहरुको तथ्यांक पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झाले बताए । उनका अनुसार भारतबाट भन्सार छलेर ल्याएका गुटखा र सुर्तीजन्य पदार्थको जिल्ला सदरमुकाम मलंगवा सहित जिल्लाका सबै बजारहरु रतीनका ठूला–ठूला गोदाममा राख्ने गरेका पाइन्छ ।
जिल्लामा भित्रिएका सुर्तिजन्य पदार्थहरु नेपाल भरिका बजाहरुमा समेत पुग्ने गरेका उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकी मगरले बताए । उनका अनुसार दैनिक रुपमा भित्रने सुर्तीजन्य पर्दाथले गर्दा नेपाली नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको भएपनि दैनिक करिब रु ५० लाख भन्दा बढिको राजस्व छल्ने काम समेत भइरहेको पाइएको छ ।
भारतबाट नेपाल भित्रने यस्ता अवैध सुर्तीजन्य पदार्थलाई पूर्ण रुपमा प्रतिवन्ध लगाउनु पर्ने अध्यक्ष मगरले बताए । स्थानीय प्रशासनलाई सबै कुरा थाहा हुँदा पनि भारतीय अवैध सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नीयमन गर्न कुनै प्रकारको पहल नगरिएको नागरिक समाजका अगुवा उग्रकान्त झाको आरोप छ । उनका अनुसार राज्यलाई प्रत्यक्ष रुपमा मासिक अरबौँ रकमको राजस्व घाटा भइरहेको छ भने नेपाली जनता भारतीय सुर्तीजन्य पदार्थ सेवन गरेर अकाल मृत्युको मुखमा पुग्ने गरेका छन् ।
‘स्थानीय सरकार तथा प्रशासनले यसप्रति ठोस कदम उठाउनु पर्नेमा सरोकारवाला निकाय मौनदेखिएको छ ।’स्थानीय रामपुकार महतोले बताए । उनले भारतीय अवैध सुर्तीजन्य पदार्थहरुको ट्रान्जिट प्वाईन्ट सिमानाकाका जिल्लाहरु परेका बताए ।
यस्ता अवैध सुर्तीजन्य पदार्थलाई तुरुन्तै नियन्त्रण नगरे जिल्लामा मात्र नभइ देशैभर नै यसले ठूलो क्षति गर्ने जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले बताए । उनले भारतमा उत्पादन हुने गुटखा तथा सुर्तीजन्य पदार्थको ठूलो बजार नेपाल बन्दै गएको बताए ।
भारत सरकारले गुटखा तथा सुर्तीजन्य पदार्थहरुमाथि कडा प्रतिबन्ध लगाएपछि यसको ठूलो बजार नेपाल बनेको छ । खासगरी मधेश प्रदेशका जिल्लाहरुबाट दैनिक ठूलो परिमाणमा गुटखा तथा सुर्तीजन्य पदार्थ नेपाल भित्रने गरेको छ । यसलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउनु पर्ने समन्वय समिति सर्लाहीका प्रमुख सिंहले बताए ।