सर्लाहीकोे लालबन्दी नगरपालिकाले यस पटक कम्युनिष्टको ३० वर्षे सक्ता भत्काएको छ । नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेद्वारी फिर्ता र गठबन्धनका उम्मेद्वारलाई समर्थन गर्ने पत्र लालबन्दी नगरपालिकाको नगरप्रमुख पदका उममेदवार बासुदेव अधिकारीलाई पठाए पनि त्यसलाई लत्याउँदै चुनावी प्रचारमा होमिएका नेपाली कांग्रेस लालबन्दी नगर कमिटिका उम्मेदवार वासुदेव अधिकारी लालबन्दी नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनु भयो ।
लालबन्दीमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार अधिकारीले ९ हजार ५ सय ६१ मत प्राप्त गर्दै जित निकाल्दा उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का गोविन्दबहादुर महतले ७ हजार ८ सय ८३ मत प्राप्त गर्नुभयो । यस्तै, लालबन्दीमा उप प्रमुखतर्फ काङ्ग्रेसकी कल्पना पाख्रिन निर्वाचित हुनु भयो । पाख्रिनले ८ सय ८ सय ५० मत ल्याउँदा उहाँकी निकटम प्रतिद्वन्द्वी एमालेकी सनसरीमाया थिङले ८ हजार १ सय ५९ मत प्राप्त गर्नुभयो ।
नगरपालिकामा कांग्रेससँग गठबन्धन नै नभए पनि नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री देउवाले गठबन्धनलाई सघाउनु भनेपछि आक्रोशित बनेका लालबन्दी कांग्रेसका नेता तथा कार्यकर्ताले उम्मेदवारी फिर्ता हुन दिएनन् । उम्मेदवारी दर्ताको समयमा केन्द्रबाट ढिला पत्राचार भएपछि लालबन्दीस्थित निर्वाचन कार्यालयले नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार अधिकारीको उम्मेदवारी कायम नै राखेको थियो ।
दोस्रोपटक पनि केन्द्रबाट नै सभापति एवम प्रधानमन्त्री देउवाको हस्ताक्षर रहेको गठबन्धनलाई सघाउनु भन्ने पत्र आएपछि स्थानीय कांग्रेसी आक्रोशित हुँदै कुनै पनि हालतमा पछाडि नहट्ने अडानमा रहेका थिए ।
यस्तै १७ वटा वडा रहेको लालबन्दी नगरपालिकाको १ मा स्वतन्त्र उम्मेदवार हरी बहादुर भट्टराई ५ सय ५७ मत , वडा नम्बर २ मा नेकपा(माओवादी केन्द्र)का किरण कुमार पासवान १ हजार २९ मत, वडा नम्बर ३ मा नेपाली कांग्रेसका बुद्ध देव चौधरी ४ सय ९७ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका सत्यनारायण चौधरी ७ सय ८३ मत, वडा नम्बर ५ मा नेपाली कांग्रेसका मिन प्रसाद ढुंगेल(रामु) ९ सय ४० मत, वडा नम्बर ६ मा नेकपा (एमाले)का लाल बहादुर योन्जन ५ सय ३७ मत, वडा नम्बर ७ मा नेपाली कांग्रेसका कृष्णकुमार कार्की (गोपाल) १ हजार ४९ मत, वडा नम्बर ८ मा नेकपा(माओवादी केन्द्र)का शुक्र बहादुर पाख्रिन ४ सय ६० मत, वडा नम्बर ९ मा नेपाली कांग्रेसका नारायण अधिकारी ७ सय ७६ मत, वडा नम्बर १० मा नेपाली कांग्रेसका तोप बहादुर श्रेष्ठ ४ सय ८० मत, वडा नम्बर ११ मा नेकपा एमालेका दिपक कुमार लामा ७ सय १५ मत, वडा नम्बर १२ मा नेकपा (माओवादी केन्द्र)का दुर्गा बहादुर आले ३ सय ९८ मत, वडा नम्बर १३ मा नेपाली कांग्रेसका शिव कुमार वैद्य ५ सय १६ मत, वडा नम्बर १४ मा नेकपा(एमाले)का छेनाम सिंह घिसिङ ८ सय ३१ मत, वडा नम्बर १५ मा नेकपा(माओवादी केन्द्र)का गोरख बहादुर बल ६ सय २१ मत, वडा नम्बर १६ मा नेकपा(माओवादी केन्द्र)का गणेश बहादुर थापा ८ सय १८ मत र वडा नम्बर १७ मा नेकपा(माओवादी केन्द्र)का विष्णु हरी अधिकारी ९ सय ७९ मत प्राप्त गर्दै वडा अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।