सर्लाहीको लालबन्दी नगरपालिकाको नगर प्रहरी बलले आर्थिक वर्ष २०८१/०८२ मा रु १४ लाख बढी राजश्व संकलन गरेको छ।१५ जना दरबन्दी रहेको लालबन्दी नगर प्रहरी बलमा हाल आठ जना कार्यरत रहेकामा २४ सैँ घण्टा डिउटी गर्दा रु १४ लाख ४३ हजार नौ सय ५१ रुपैया अमानत मार्फतको राजश्व संकलन गरिएको नगर प्रहरी बलका प्रमुख एवम असई लक्ष्मी प्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार १५ जनाको दरबन्दी रहेकोमा हाल सात जना जवान र एक जना असई कार्यरत रहेकामा बजारमा डिउटी,नगर सभा,कार्यपालिका सुरक्षा डिउटीका साथै विपद् व्यवस्थापनमा समेत सहभागिता जनाउँदै अमानत वापतको रु १४ लाख ४३ हजार नौ सय ५१ रुपैया राजश्व संकलन गरिएको हो ।

न्यायिक समितिको निर्णय कार्यान्वयन,चिठ्ठी पत्र ओसार पसार,इजलास सञ्चालनमा सुरक्षा डिउटीका साथै सार्वजनिक मन्दीर बाटो सरसफाईमा सहभागिता,नगरपालिकाले सञ्चालन गरेको व्यवसाय दर्ता अभियानमा सहभागिता,लालबन्दी नगर अस्पताल सुरक्षा डिउटी, नगरपालिका भित्रका सबै बजारहरुको ठेक्का सम्झौता नहुँदा सम्म अमानतमा राजश्व संकलनको काम लालबन्दी नगर प्रहरी बलले गर्ने गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट भएको आदेशको पालना गर्दै डिउटी गर्ने क्रममा जनशक्तिको अभावका बाबजुद पनि नगर प्रहरी बलले राजश्व संकलनमा उल्लेख्य भूमिका खेलेको लालबन्दी नगरपालिकाले जनाएको छ ।
संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको परिकल्पना पछि २०७३ सालमा स्थापना भएको लालबन्दी नगरपालिकाले करिब आठ वर्षपछि नगर प्रहरी बल गठन गरेको थियो । ढिलो गरी गठन गरिएको नगर प्रहरी बलमा अझैपनि सात जनाको दरबन्दी खाली रहेको छ ।