नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य प्रह्लाद कुमार बुढाथोकीले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रस्ताव गर्नु भएको छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले रोकेपछि उहाँले सोविमानस्थल सर्लाहीको धरहरा–मुर्तीया क्षेत्रमा बनाउन प्रस्ताव गर्नु भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेलाई पत्र पठाउँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य बुढाथोकीले मधेस प्रदेशको सर्लाहीमा विमानस्थल बनाउन प्रस्ताव गर्नु भएको हो ।
सर्लाहीको सगरमाथा वन विकास परियोजनाको क्षेत्रको धरहरा–मुर्तीया क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न उचित हुने भन्दै उहाँले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आले र अर्थ मन्त्री जनार्दन शर्मा(प्रभाकर)लाई पत्र पठाउनु भएको हो । उहाँको पत्रमा मधेश प्रदेशको विच भागमा सर्लाही रहेको र सो क्षेत्रमा विमानस्थल निर्माण गर्दा वन फडानी गर्नु नपर्ने उल्लेख छ । साथै सो क्षेत्रमा पहिले नै सम्भाव्यता अध्ययन समेत भइसकेकोले सो क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रक्रिया अघि बढाउनका लागि आवश्यक पर्ने बजेटको समेत सुनिश्चितता गर्न केन्द्रीय सदस्य बुढाथोकीले मन्त्री आले र शर्मासंग प्रस्ताव गर्नु भएको छ ।
सर्वोच्च अदालतले बिहीबार बाराको जितपुर सिमरा उप महानगरपालिकामा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्य तत्काल रोक्न आदेश दिएको थियो। अदालतको आदेशसँगै विमानस्थल निर्माण कार्य रोकिने छ । अदालतको आदेशप्रति बाराका राजनीतिक दलहरुले भने असन्तुष्टि जनाएका छन्। यता, सर्लाहीका राजनैतिक दलहरु सर्लाहीमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्नेमा एक भएका छन् ।