निर्वाचनका लागि सर्लाहीमा करिब चार हजार कर्मचारी परिचालन हुने

246 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीका चार वटा निर्वाचन क्षेत्रका लागि करिब चार हजार जना कर्मचारीहरु खटिने भएका छन्।देशभरकै सबै भन्दा धेरै २० वटा पालिका रहेको सर्लाहीका दुई सय वटा वडाका तीन सय १२ मतदानस्थल र छ सय २८ मतदान केन्द्रका लागि तीन हजार सात सय ६८ जना विभिन्न तहका कर्मचारीहरु परिचालन हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवम निर्वाचन अधिकारी ऋषीराम पौडेलले जानकारी दिए ।
उनका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ७८ मतदानस्थल र एक सय ५७ मतदान केन्द्रका लागि नौ सय ४२ जना,निर्वाचन क्षेत्र नं. २ मा ७७ मतदानस्थल र एक सय ५८ मतदान केन्द्रका लागि  नौ सय ४८ जना,क्षेत्र नम्बर ३ का ७६ मतदानस्थल र एक सय ५९ वटा मतदान केन्द्रका लागि नौ सय ५४ जना र सर्लाही क्षेत्र नम्बर ४ का ८१ वटा मतदानस्थल र एक सय ५४ मतदानकेन्द्रका लागि नौ सय २४  जना विभिन्न तहका कर्मचारीहरु खटिने भएका छन् ।
प्रत्येक मतदान केन्द्रमा मतदाता संख्या अनुसार कर्मचारी परिचालनको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ।पाँच सयसम्म मतदाता भएको मतदान केन्द्रमा एक मतदान अधिकृत,एक सहायक मतदान अधिकृत,तीन जना सहायक कर्मचारी र एक जना स्वयंसेवक गरी छ जना कर्मचारी खटिने छन्।पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा भने सहायक कर्मचारीको संख्या यथावत राख्दै स्वयंसेवक थपिने कार्यालयले जनाएको छ ।
निर्वाचनमा परिचालन हुने कर्मचारीमा स्थानीय तह,सरकारी कार्यालय र शिक्षकहरू रहेका छन्।सर्लाहीका नौ वटा गाउँपालिका र ११ वटा नगरपालिका गरी २० वटा स्थानीय तहमा कुल पाँच लाख ११ हजार छ सय छ मतदाता रहेको छ।चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा  विभिन्न २६ वटा दलका ६१ जना र दल विहिन ७० जना गरी एक सय ३१ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।छ जना महिला सहित एक सय २५ जना पुरुषको उम्मेदवारी परेको सर्लाहीमा क्षेत्र नम्बर एकमा २८ जना,क्षेत्र नम्बर २ मा ३१ जना,क्षेत्र नम्बर तीनमा ३४ जना र क्षेत्र नम्बर चारमा ३८ जना उम्मेदवार रहेका छन्।
यता,सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ लाई सुरक्षाको दृष्टिकोणले संम्वेदनशिल मानिएका कारण सुरक्षा व्यवस्थालाई पनि मुख्य प्राथमिकतामा राखिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।कार्यालयका अनुसार निर्वाचनलाई व्यवस्थित,सुरक्षित र पारदर्शी रूपमा सञ्चालन गर्न आवश्यक प्रावधान मिलाइएको छ । 
जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयका साथै स्थानीय तहहरुले संयुक्त रूपमा निर्वाचनमा परिचालन हुने कर्मचारीलाई प्रशिक्षण दिइरहेका छन्।मतदाता र मतदान प्रक्रिया दुवैलाई सहज बनाउन कर्मचारी परिचालन,सुरक्षा व्यवस्था र व्यवस्थापन सुनिश्चित गरिएको छ।सर्लाहीबासीले सुरक्षित,निष्पक्ष र सुचारु निर्वाचनको वातावरणमा आफ्नो मत प्रयोग गर्न सकुन् भन्ने उद्देश्यसहित प्रशासनले तयारीलाई पूर्णता दिइरहेको छ ।

सम्बन्धित समाचार