Close This

स्नातक उर्तिण गरी विवाह गर्ने छोरीलाई हरिपुर्वा ३ ले रु ५० हजार दिने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२० गते   १५१ पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिका ३ का स्नातक तह उर्तिण गरी विवाह गर्ने छोरीहरुलाई प्रोत्साहन स्वरुप रु ५० हजार प्रदान गर्ने भएको छ । हरिपुर्वा नगरपालिका ३ वडा कार्यालयले नातक तह उर्तिण गरी विवाह गर्ने छोरीहरुलाई प्रोत्साहन स्वरुप रु ५० हजार प्रदान गर्ने भएको हो ।
हरिपुर्वा नगरपालिका ३ का नवनिर्वाचित वडाध्यक्ष प्रमोद कुमार रायसहित अन्य सदस्यहरुले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । यस्तै, वडाभित्रका छोरीहरुलाई कक्षा १२ मात्रै उर्तिण गर्दा पनि प्रोत्साहन स्वरुप  रु १५ हजार प्रदान गर्ने निर्णय गरिएको वडाध्यक्ष रायले जानकारी दिनु भयो ।
छोरीहरु शिक्षाबाट बन्चित हुन नपरोस् र उमेर नपुगी हुने विवाह रोकियोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको वडाध्यक्ष रायले बताउनु भयो । उहाँका अनुसार एसईई परीक्षामा ए प्लस ल्याउने छात्र तथा छात्रालाई जनही रु १० हजार प्रदान गर्ने निर्णय गरिएको छ ।
यस्तै, बैठकले हरिपुर्वा नगरपालिका ३ को धनकौल स्वास्थ्य चौकीमा ४ पटक गर्भजाँच गराउने महिलालाई सरकारले दिँदै आएको बाहेक वडाको तर्फबाट थप रु ८ सय प्रोत्साहन रकम प्रदान गर्ने निर्णय गरेको छ । वडाका जनप्रतिनिधिहरुको पदभार ग्रहण कार्यक्रममा हरिपूर्वा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विनोद कुमार साह, उपप्रमुख सुमित्रा देवी ग्वारिन, निवर्तमान नगर प्रमुख शियाराम राय लगायतको सहभागीता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech