सर्लाहिको रामनगर गाउँपालिका ४ का निवर्तमान वडा अध्यक्ष राम नरेश महतोको लापर्वाहीका कारण लाखौको रासायनिक मल प्रयोग अवधि गुज्रेर नष्ट भएको छ । नेपाल सरकार कृषि मन्त्रालयबाट अनुदानको रुपमा किसानहरुलाई वितरण गर्नका लागि आएको रासायनिक मल वडा अध्यक्ष महतोले वडा कार्यालयको स्टोर कक्षमा थन्क्याएर राख्दा प्रयोग अवधि गुज्रेर नष्ट भएको हो ।
वडा अध्यक्ष महतोकै कार्यकालमा ५० प्रतिशत अनुदानमा किसानहरुलाई रासायनिक वितरण गर्न कृषि मन्त्रालयबाट पठाईएको १ किलोका दरका प्यकेट भएको करिव ५ हजार प्याकेट भुमी केयर नामक रासायनिक मल स्टोर कक्ष मै थन्क्याएर राख्दा प्रयोग अवधि गुज्रेर नष्ट भएको हो ।
जिल्लामा रासायनिक मलको अभाव भएर कृषि उत्पादनमा कमी आएको किसानहरुको गुनासो भएपनि जनप्रतिनिधिहरुको लापर्बाहीका कारण जिल्लाका किसानहरु मारमा परेका छन् । ठेक्का,बटिया खेती गर्ने किसानहरुलाई अनुदानमा दिने कृषिजन्य सामाग्री जनप्रतिनिधिको व्यक्तिगत स्वार्थका कारण प्रयोग अवधि गुज्रेर नष्ट हुँदा आफुहरु मारमा परेको किसानहरुको गुनासो छ ।