सर्लाहीको बयलवास बजारमा बीच सडक मै बिजुलीका खम्बा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-३० गते   १११४ पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारमा विच सडकमा परेका बिजुलीका खम्बा (पोल) नहटाइँदा सडक निर्माण गर्दा जोखिम बढेको छ । निर्माणाधीन अवस्थामा रहेको फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत केही महिनाअघि व्यक्तिगत घर र अन्य भौतिक संरचना भत्काएर विस्तार गरिएको इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजार क्षेत्रमा नाङ्गो तार भएका दर्जनौँ बिजुलीका खम्बाहरु बिच सडकमा परेका छन् ।
मुख्य बजार क्षेत्रमा सडक बढाउँदा कमजोर भएका बिजुलीका खम्बा आफै ढले वा कुनै सवारी साधनले ठक्कर दिएर ढलेमा गम्भीर किसिमको अप्रिय घटना हुनसक्ने जोखिम रहेको स्थानीय सुरेश साफीले बताउनु भयो । उहाँका अनुसार इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजार क्षेत्रमा नाङ्गो तार भएका दर्जनौँ बिजुलीका खम्बाहरु बिच सडकमा परेका छन् । भने सडकको विच भागमा बिजुलीका खम्बाहरु हुँदा सडक दुर्घटना समेत हुने देखिन्छ ।
सडकमा पर्ने बिजुलीका खम्बा कस्ले सार्ने भन्ने प्रष्ट नरहेको र अहिले भने आफूहरुलाई नै खम्बा सार्ने रकम समेत प्राप्त भएकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीसँग समन्वय गरी काम गर्ने सडक निर्माण गरिरहेको शुदी आशि सन्तोषि जेभीका ठेकेदार केशब कँडेलले बताउनु भयो । उहाँले बजार क्षेत्रको सडकमा ‘डिभाइडर’ समेत राख्ने योजना रहेकाले ‘डिभाइडर’ भित्र पर्ने खम्बाहरु भने नसार्ने बताउनु भयो ।
‘हामीले नैसार्नु पर्ने गरि पहिला निर्देशन र रकम थिएन अहिले रकम आयो हामी सडकको विचमा ‘डिभाइडर’ राख्ने स्थानका बाहेकका बिजुलीका खम्बा सार्छौ ।’ कँडेलले बताउनु भयो ।
इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजारबाहेक फूलजोर–त्रिभुवननगर सडकको बबरगञ्ज, भेल्हीलगायत क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवासँग समन्वय गरी बिजुलीका खम्बा सार्ने काम गरिने निर्माण व्यावसायी कँडेलले बताउनु भयो । करिब २७ किलो मिटर सडकको विच भागमा पर्ने बिजुलीका खम्बा सार्न लाग्ने खर्च नेपाल विद्युत प्राधिकरणले बेहोर्न तयार भएकाले निर्माण कम्पनी आफौले सो सडक खण्डमा पर्ने बिजुलीका खम्बा सार्ने गरी आफुहरुले नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयबाट स्वीकृत लिने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सन्जिव कुमार साहले बताउनु भयो । उहाँले सडकको ‘साइड क्लियर’ नभएसम्म खम्बा सार्ने काम अगाडि नबढ्ने बताउनु भयो ।
ईश्वरपुर नगरपालिकाले सडकमा परेका बिजुलीका खम्बा हटाउन ठेकेदार र प्राधिकरणसँग समन्वय गरिरहेको नगर प्रमुख मनोज कुमार आर्चायले बताउनु भयो ।उहाँका अनुसार इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजार क्षेत्रमा बिजुलीका केही खम्बा बीच सडकमा छन् भने अधिकांश खम्बा नाला भन्दा भित्रपट्टी नै रहेका छन् । सडकको विचमा तथा नाला भन्दा भित्र रहेका बिजुलीका खम्बाहरु कसले र कहिले सार्ने भन्ने विषयमा आफुले निर्माण कम्पनी र विद्युत प्राधिकरणका प्रतिनिधिसंग छलफल र समन्वय गरेको नगर प्रमुख आर्चायले बताउनु भयो ।
 इश्वरपुर नगरपालिका ६ स्थित बयलवास बजार क्षेत्रमा सडक निर्माण र त्यससँग जोडिएका अन्य काम गर्ने क्रममा बारम्बार विवाद सिर्जना हुने गरेकोे छ । विवादकै कारण सडक निर्माणको काम निकै सुस्त गतिमा भइरहेको स्थानीय विन्दु साहले बताउनु भयो । त्यहाँ सडक तथा नाला निर्माणकै विषयमा केही समयअघि झडप हुँदा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साह घाइते समेत हुनु भएको थियो । सडक तथा नाला निर्माण गर्न साइड खाली गर्ने विषयमा राजनीति गरिँदा सो क्षेत्रमा सडक निर्माणको काम सुस्त भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech