सर्लाहीको हरिवन ९ मा निर्माण सुरु भएको मानवसेवा आश्रमको भवन अलपत्र

832 Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको हरिवन नगरपालिका ९ मा निर्माण सुरु भएको मानवसेवा आश्रमको भवन अलपत्र परेको छ । हरिवन नगरपालिका ९ को दनुवारीमा सडक मानवहरुलाई व्यावस्थापन गर्न निर्माण सुरु गरिएको मानव सेवा आश्रमको भवन निर्माणकै चरणमा अलपत्र परेको हो ।
सामाजिक विकास मन्त्रालय मधेश प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा रु ५७ लाख ६० हजारमा  सामाजिक विकास ईकाई कार्यालय सर्लाही मार्फत भवन निर्माणको काम सुरु गरेको थियो । २०७८ साल बैशाख १६ गते निर्माण सुरु भई २०७८ असार १५ गते निर्माण सम्पन्न गर्नु पर्ने भए पनि करिब २ वर्ष हुनै लाग्दा पनि भवन निर्माण कार्य अलपत्र परेको छ ।
सडक मानव र लैङ्गिक हिंसा पीडितहरुलाई दिर्धकालीन रुपमा व्यावस्थापन गर्ने लक्ष्यका साथ सामाजिक विकास मन्त्रालयले बजेट विनियोजना गरेको भएपनि ठेकेदार कम्पनीले उपभोक्ता समिति मार्फत निर्माणको काम गर्दा निर्धारीत समयमा निर्माण सम्पन्न हुन नसकेको स्थानीय रामशरण उप्रेतीले बताए । उनका अनुसार ४ वटा भवन निर्माण हुनु पर्ने भए पनि अहिले २ वटा भवनको पिलर मात्र निर्माण गरिएको छ ।


निर्माण कै चरणमा अलपत्र परेको भवन 

भवन निर्माण गर्न कति रकम थियो सो विषयमा पनि ठेकेदारले आफूलाई जानकारी नगराएको र ठेकेदार कमिसनको खेलमा लाग्दा भवन निर्माणको काम निर्धारित समयमा नसकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष एवम हरिवन नगरपालिका ९ का वडा अध्यक्ष कोकिला नन्द उप्रेतीले बताए ।उनले मानवसेवा आश्रमको भवन निर्माणका लागि आएको रु ५७ लाख ६० हजार रकम मध्य अझै केही रकम निर्माण उपभोक्ता समितिको खातामा रहेको र आउने आर्थिक वर्षबाट स्थानिय सरकार,प्रदेश सरकार र केन्द्र सरकारले अरु अपुग रकम थपेर सडक मानवहरुलाई बस्न योग्य भवन निर्माण गर्नु पर्ने बताए ।
स्थानिय सरकार गैर जिम्मेवार र कमिसनको चलखेलमा पर्दा भवन निर्माणको काम अलपत्र परेको हरिवन नगरपालिका ९ का निवर्तमान वडा अध्यक्ष सिताराम पोख्रेलले बताए ।उनका अनुसार नदी किनारमा लगेर भवन निर्माणको काम गर्नु,स्थानिय सरकारले चासो नदिनु,निर्माण उपभोक्ता समितिलाई रकमको बारेमा जानकारी नदिनु,ठेक्का लगाएर पनि निर्माण उपभोक्ता समिति मार्फत काम गराउनु लगायतका कारण निर्धारित समयमा भवन निर्माण नभएको हो ।
वडा अध्यक्ष उप्रेतीले अहिले सो भवनको पिलरमा रहेका रडहरु काटेर चोरी हुन थालेको बताए । वडा अध्यक्ष एवम भवन निर्माण  समितिका अध्यक्ष समेत रहेका अध्यक्ष उप्रेती यस्तै गैर जिम्मेवारपुर्ण जवाफ दिँदै पन्छिने गर्दा भवन निर्माण कहिलो हुन्छ भन्ने स्थानीयलाई चिन्ता बढ्न थालेको छ ।

सम्बन्धित समाचार