Close This

भुस बोकेका दुई वटा मालबाहक ट्रकमा लुटपाट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१८ गते   ३७७ पटक हेरिएको

पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको हरिवनमा  दुई वटा मालबाहक ट्रकमा लुटपाट भएको छ । जिल्लाको हरिवन नगरपालिका–४ तिनघरे चोकमा भुस बोकेर पुर्वबाट पश्चिम जाँउदै गरेको दुई वटा ट्रकमा लुटपाट भएको हो । 
ना ६ ख ६४९८  र  ना ५ ख ५९४० नम्बरको ट्रकमा लुटेरा समुहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गएराति पुर्वपश्चिम लोकमार्गको तिनघरेमा बसेका चार जनाको समुहले ट्रक रोकेर आफूहरु प्रहरी हुँ भन्दै साथमा रहेको नगद लुटेर लगेको ट्रकका चालकहरुले बताएका छन ।
अनुसन्धान प्रकृयामा प्रभाव पर्ने भन्दै प्रहरीले चालकको नाम र ठेगाना गोप्य राखेर अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले बताउनु भयो ।
ट्रक चालकहरुका अनुसार लुटपाट गरे लगतै लुटेरा समुह कारमा चढेर भागेका थिए । घटनामा संलग्न रहेको आशंकामा ईलाका प्रहरी कार्यलय हरिवनको टोलीले हरिवन नगरपालिका–८ बाट बा १५ च ५०७२ नम्बरको कार नियन्त्रण लिएको छ । 
घटनामा संलग्न कोही पनि पक्राउ नपरेको र घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिनु भयो । लक डाउनको मौका छोपी सडकमा सवारी साधनको चाप कम रहेको समयमा लुटेराहरुले लुटपाट कार्यलाई तिब्रता दिएका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech