Close This

सर्लाहीका १८ गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट ल्याए, धनकौल र विष्णुको सभा भएन् ।

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-१० गते   ३५८ पटक हेरिएको

सर्लाहीका १५ वटा स्थानिय निकायले शुक्रबार एकैसाथ गाउँ तथा नगर सभा गरेका छन् ।
जिल्लाका १५ वटा स्थानिय निकायहरुले शुक्रबार एकैसाथ गाउँ तथा नगर सभा गर्दै आगामी आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
जिल्लामा रहेको २० वटा स्थानिय निकाय मध्ये बिहीबार ३ वटा स्थानिय निकाय र शुक्रबार १५ वटा स्थानिय निकायले आ–आफ्नो गाउँ तथा नगर सभा गरि आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । जिल्लाको हरिपुर नगरपालिका,कविलासी नगरपालिका र पर्सा गाउँपालिकाले  बिहीबार नै आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । बाँकी रहेका १७ वटा स्थानिय निकाय मध्य धनकौल गाउँपालिका र विष्णु गाउँपालिका बाहेकका स्थानिय निकायहरुले आ–आफ्नो गाउँ तथा नगर सभा गरि आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
शुक्रबार जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, हरिपूर्वा, मलंगवा, गोडैता, बलरा र बरहथवा नगरपालिकाले नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । 
त्यसैगरी, चन्द्रनगर, ब्रम्हपुरी, चक्रघट्टा, बसबरिया, कौडेना र रामनगर गाउँपालिको पनि शुक्रबार नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । भने धनकौल गाउँपालिका र विष्णु गाउँपालिकाले आ–आफ्नो गाउँ सभा गर्न सकेनन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानिय निकायहरुले असार १० गतेभित्र आ–आफ्नो गाउँ तथा नगर सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । तर, जिल्लाका यि दुई स्थानिय निकायहरुले भने असार १० गतेभित्र गाउँसभामा बजेट पेस गर्न सकेनन् ।
धनकौल गाउँपालिकाका ७ वटा वडा मध्य २ वटा वडाका योजनाहरु गाउँपालिकामा नआएको हुँदा शुक्रबार गाउँ सभा गर्न नसकिएको र असार १३ गते सोमबार गाउँ सभा गर्ने धनकौल गाउँपालिका अध्यक्ष रामअश्रय साहले बताउनु भयो । 
गाउँ सभाको तयारी नपुगेका कारण शुक्रबार गर्नु पर्ने गाउँ सभा एक साताभित्रै गर्ने तयारी गरिएको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवले बताउनु भयो ।
उहाँले आफ्नो काम गर्ने शैली नै फरक रहेकाले हचुवाको भरमा नभई सुझबुझ किसिमले बजेट ल्याउने तयारी समेत गर्दा शुक्रबार बजेट आउन नसकेको बताउनु भयो ।
यसबीचमा आफू प्रदेश र संघीय सरकारको विभिन्न कार्यक्रममा सहभागी हुन गएकाले ब्यस्त भएको गाउँपालिका अध्यक्ष यादवको भनाई छ ।
बजेट तर्जुमाका सात चरण
स्थानीय निकायको बजेट विभिन्न ७ चरणका प्रक्रिया पूरा भएपछि मात्र बन्ने छ । साविकका स्थानीय निकाय गाउँ विकास समिति हुँदा करिब १४ चरणका प्रक्रिया पूरा गर्दै बजेट बन्ने गरेकोमा संघीय व्यवस्थामा स्थानीय निकायको बजेट ७ चरणका प्रक्रिया पूरा गर्दै बन्ने व्यवस्था गरिएको छ । पहिलो चरणमा बजेटको पूर्वतयारी रहेको छ जसमा आय÷व्ययको प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण संघीय सरकारमा पेश गर्ने र संघ र प्रदेशबाट बजेटको सीमा प्राप्त गर्ने रहेको छ । यसैगरी चरण २ मा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण, चरण ३ मा बस्तीहरुका योजना छनोट, चरण ४ मा वडातहमा योजना छनोट तथा प्राथमिकीकरण रहेको छ । यसैगरी चरण ५ मा बजेट तथा कार्यक्रम तर्जुमा, चरण ६ मा गाउँ वा नगर कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृति र चरण ७ मा गाउँ वा नगरसभाबाट बजेट तथा कार्यक्रम स्वीकृति रहेको छ । सातौं चरणभित्र बजेट तथा कार्यक्रम प्रस्तुति रहेको छ ।
स्थानीय निकायले नेपालको संविधान,स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ लगायतका आधारमा बजेट तर्जुमा गर्नुपर्नेछ । यसैगरी संघीय र प्रदेश सरकारले जारी गरेका नीति, कानुन तथा मापदण्डहरु, स्थानीय निकायमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७४, संघीय, प्रादेशिक र स्थानीय निकायको आवधिक विकास योजना, स्थानीय निकायको मध्यकालीन खर्च संरचना, उपलब्ध स्रोतसाधन, विकासका अन्तर सम्बन्धित विषयहरु तथा नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा जनाएका प्रतिबद्धताबाट सिर्जित दायित्वहरु र संघ र प्रदेश सरकारले आँकलन गरेका अन्य आर्थिक नीतिहरुलाई बजेट तर्जुमाको आधार बनाउनुपर्ने उल्लेख गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech