Close This

२७६ नगरपालिका मध्य सबै भन्दा धेरै बागमतीको बजेट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-१२ गते   ३०१ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाले नेपालका नगरपालिकाहरुमध्ये सबैभन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको छ । बागमती नगरपालिकाको दोश्रो कार्यकालका लागि पुनः निर्वाचित नगर प्रमुख भरत कुमार थापासहितको नेतृत्वको टिमले नेपालका नगरपालिकाहरुमध्ये सबैभन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको हो ।
भरत तालसँगै अन्य भौतिक पूर्वाधार निर्माण तथा सामाजिक विकासमा उत्कृष्ट काम गर्दै आएको बागमती नगरपालिकाका जनप्रतिनिधिहरुको दोस्रो कार्यकालको पहिलो बजेट नै महत्वकांक्षी रहेको छ । संघिय संरचना अनुसार गठन भएका २ सय ७६ वटा नगरपालिकाहरु मध्य सबै भन्दा धेरै बजेट बागमती नगरपालिकाले नगर सभा मार्फत प्रस्तुत गरेको हो ।
बागमती नगरपालिकाको नगरसभामा आर्थिक वर्ष ०७९÷०८० का लागि रु ३ अर्ब ५० लाखको बजेट अनुमान प्रस्तुत गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिनु भयो । उहाँका अनुसार बागमती नगरपालिकाले महत्वपूर्ण कार्यक्रमहरुसहित १३ वटा नगर गौरवका ठूला योजना प्रस्तुत गरेको छ । ८ वटा जिल्ला रहेको मधेश प्रदेशमा ७३ वटा नगरपालिका,३ उप महानगरपालिका, १ महानगरपालिका र ५९ वटा गाउँपालिका रहेका छन् । 
मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाले रु ३ अर्ब ३३ करोड ५० लाख बजेट प्रस्तुत गर्दा बागमती नगरपालिकाले रु ३ अर्ब ५० लाखको बजेट अनुमान प्रस्तुत गरेको छ । महानगरकै हाराहारीमा बजेट प्रस्तुत गरेको बागमती नगरपालिकाले 
महत्वपूर्ण कार्यक्रमहरुसहित १३ वटा नगर गौरवका ठूला योजना समेत नगर सभामा प्रस्तुत गरेको छ । नगरले शिक्षा,स्वास्थ्य,रोजगारी र पुर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ ।
बागमती नगरका गौरवका १३ नगर आयोजनाहरु
नेपालकै नमूना आँखिझ्याल आयोजना, व्यवस्थित आर्यघाट निर्माण, आधुनिक फिल्म सिटि, बजार केन्द्र, सामुहीकृत सांस्कृतिक नमूना वस्ति विकास, बागमती माछा पोखरी, सडक कालोपत्रे, बागमती फनपार्क र रिसोर्टलाई नगर गौरवको आयोजनाका रुपमा नगरपालिकाले अगाडि बढाउने घोषणा गरेको छ । त्यस्तै, कृषि आधुनिकीरकण, ल्याण्ड पुलिङ, नगर बगैंचा आयोजना, डिजिटल गभर्नेन्स, बौद्ध तपोवन पर्यटकीय स्थल निर्माण लगायतका गौरवका योजनाहरु नगरसभाबाट प्रस्तुत भएका छन् । 
पहिचान निर्माण
बागमती नगरपालिकाले भूउपयोग नीतिको कडाईका साथ लागू गर्ने भएको छ । घडेरीमा उपयोग हुने जग्गा बाहेकका पुरानो सबै कर बुझाउनेहरुको हकमा सम्पत्ती कर तथा मालपोत छुट गर्ने योजना नगरपालिकाले ल्याएको हो । नक्सा विना घर निर्माण गरे कानूनी कारवाहीको दायरामा ल्याउने, सांस्कृतिक पहिचान सहितको नमूना सुकुम्बासी बस्ति विकास गरी डिजाईन र रंग समेत एउटै खालको बनाउने लक्ष्य बागमती नगरपालिकाले लिएको छ । संघ र प्रदेश सरकारसँगको करिब रु १ अर्बको सहलगानीमा रोड साईड स्टेसन तथा बजार केन्द्र निर्माण गर्ने लक्ष्य लिएको नगर प्रमुख थापाले जानकारी दिनु भयो । 
त्यस्तै नगरपालिकाले नगरका विभिन्न स्थानहरुमा करिब ७ हजार ५ सय घरधुरी सुकुम्बासीहरुको बसोबास गराएको छ । घरबार बिहीन सुकुम्बासीहरुलाई नगरपालिकाले जग्गा उपलब्ध गराई बसोबास गराएको हो ।
नवीन फोहोर व्यवस्थापन प्रणाली
बागमती नगरवासीलाई शुन्य फोहोर व्यवहारमा अभ्यस्त बनाउन समुदायको परिचालन गर्ने, उत्पादित फोहोरबाट अर्गानिक मल तयार गर्ने, कृषि उत्पादनमा सोही मलको उपयोग गरिने, घरघरमा अर्गानिक कौषी र करेशाबासी खेतीमा प्रोत्साहन गरिने जस्ता रणनीति नगरसभामा प्रस्तुत भएकोछ । 
संघिय सरकारको नथामेको बागमती नगरको आँट
बागमती नगरपालिकाले आफ्नै छुट्टै सार्वजनिक खरिद नियमावली तयार गरी रु १० करोडसम्मको कार्य संस्थागत उपभोक्ता समिति वा सहकारी संस्थामार्फत् गर्ने गरी व्यवस्था मिलाउने भएको छ । संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा नियुक्त भएलगतै श्रम सहकारीबाट विकासे योजना सञ्चालन गर्ने तयारी गरेपनि अझैसम्म खरिद ऐन संशोधन गरी लागू गर्न केन्द्र सरकारले नसकेको भएपनि बागमती नगरपालिकाले आफ्नै छुट्टै सार्वजनिक खरिद नियमावली तयार गर्ने भएको हो ।
बागमती नगरपालिकाले विकास निर्माण तथा सामाजिक क्षेत्रमा योगदान गर्ने नागरिक तयार गर्ने उद्देश्यले नागरिक आचारसंहिता बनाएर लागू गर्ने योजना समेत बनाएको छ । संघ, प्रदेश र स्थानिय निकायको सहलगानीमा निर्माणाधिन बागमती माछा पोखरीलाई पूर्णता दिने बजेटमा उल्लेख गरिएको छ । 
विद्यार्थीलाई सदाचार शिक्षा, शिक्षकलाई ल्यापटप
पहिलो कार्यकालदेखि नै भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाएका नगर प्रमुख थापाले यस बर्षदेखि आधारभुत तहदेखि नै सदाचार शिक्षा सुरु गर्ने बताउनु भयो । उहाँका अनुसार एक विद्यालय एक सदाचार नेता घोषणा गरी सदाचार पद्धतिको विकास गरिने छ । शिक्षकहरुलाई प्रोत्साहन गर्न विदामा पनि अध्ययापन गराउने शिक्षकलाई बचत विदा बराबरको रकम भुक्तानी गर्ने योजना नगरपालिकाको छ । आफ्नो योग्यता बढाउन चाहने शिक्षकलाई अध्ययन विदा दिने योजना ल्याएको बागमतीले प्रत्येक शिक्षकलाई ल्यापटप वितरण गरि प्राविधिक शिक्षलाई जोड् दिने बताएको छ ।त्यस्तै, एसईईमा उत्कृष्ट हुने २ जना दलित विद्यार्थीहरुलाई पनि ल्यापटप प्रदान गरिने बजेटमा उल्लेख गरिएको छ । 
त्यस्तै बागमती नगरपालिकामा कार्यरत निजामती तथा गैर निजामती कर्माचारीहरु र जनप्रतिनिधिहरुका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीयमलाई कडाईका साथ लागु गरेको छ ।
विगतका अभियानलाई निरन्तरता
पशु सुत्केरी प्रोत्साहन वापत दिईंदै आएको रु १ हजार भक्तालाई यस बर्ष पनि निरन्तरता दिइने भएको छ । त्यस्तै, पोषण सुरक्षा भत्ता वापत छोरा जन्माउनेलाई रु ३ हजार र छोरी जन्माउने सुत्केरी महिलालाई रु ५ हजार दिने कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । प्रशासनिक चुस्तता कायम गर्न सूचकमा आधारित कर्मचारी प्रोत्साहन पद्धति विकास गर्दै नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतसँग र प्रमुख प्रशासकीय अधिृकतले अन्य कर्मचारीसँग कार्य सम्पादन सम्झौता करार अनिवार्य गर्ने व्यवस्था मिलाईने भएको छ । 
खेलकुद र फ्रि वाईफाईमा प्राथमिकतामा
बागमती नगरपालिकाले खेलकुद विकासका लागि मात्रै रु १ करोडकोबजेट प्रस्तुत गरेको छ । नगरपालिकामा छुट्टै युवा डेष्क स्थापना गरी युवाको क्षमता पहिचान तथा उपयोगको रणनीति बनाउने, वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्दै अनुभवलाई व्यवसायिकतातर्फ प्रेरित गर्ने लगायतका युवामैत्री कार्यक्रम बागमती नगरपालिकाले ल्याएको छ । मधेश प्रदेशको सान राजा जनक प्रतिको सम्मान भन्दै हरेक वर्ष बागमती नगरपालिकाको आयोजनामा राजर्षी जनक कप फुटबल प्रतियोगीता समेत सञ्चालन गरि रहेको नगरपालिकाले महिला तथा पुरुषहरुका लागि छुट्टा छुट्टै स्पोस्ट एकेडेमी सञ्चालन गरिरहेको छ । 
न्यायिक समिति
नगरवासीको विश्वास जित्दै निष्पक्ष न्यायिक निरुपणको अवस्था बनाउन बागमती नगरपालिकाले रु ८० लाख लगानीमा छुट्टै न्यायिक समिति कार्यालय बनाउने भएको छ । जसका लागि न्यायिक समितिका पदाधिकारीहरुका लागि आचारसंहिता बनाई लागू गर्ने नगरले नगर सभा मार्फत नगरले घोषणा गरेको छ । 
त्यस्तै नगरपालिकाले बालमैत्री नगरपालिका बनाउन तयारी थाल्ने,बालश्रम उन्मुलनका कार्यक्रमहरु सञ्चालन गर्ने,एक वडा एक वालमैत्री पार्क निर्माण गर्ने र बालबालिका उद्धार केन्द्र स्थापनका लागि पहल गर्ने भएको छ । साथै डिजिटल नक्सा पास गर्ने व्यावस्था मिलाउने छ भने अधुरा रहेका नगर गौरवका योजनाहरुलाई निरन्तरता दिईने नगरपालिकाका नगरसभामा प्रस्तुत गरिएको नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech