Close This

कांग्रेसका दुई नेताको जुहारी,एकले अर्कालाई कार्बाहीको प्रस्ताव

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१८ गते   १०९० पटक हेरिएको

  सर्लाहीमा नेपाली कांग्रेसका दुई नेताको जुहारी सुरु भएको छ । नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र सर्लाही १ नम्बर क्षेत्रका क्षेत्रीय सभापति हरिबहादुर लुंगेली वीच जुहारी सुरु भएको हो । स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० मा अन्तरघात गर्नेहरुले आफुलाई कार्बाहीको सिफारिस गरेका भन्दै पूर्व आमन्त्रित केन्द्रीय सदस्य श्रेष्ठले आपत्ति जनाएका छन् ।
भने क्षेत्रीय सभापति लुंगेलीले पार्टीको विधान र नीयमावली विपरित गठबन्धका उम्मेदवारलाई नभई बागी उम्मेदवारलाई सहयोग गरेको भन्दै सो कार्य रोकी पार्टीको निर्णयमा फर्किन भन्दै आग्रह गरेका छन् ।
पूर्व उर्जा तथा पशुपंक्षी विकास राज्यमन्त्री समेत रहेका श्रेष्ठले नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीका सभापतिलाई पत्र लेख्दै गठवन्धनको उम्मेदवारलाई सघाउन नहिँडेको भन्दै कारवाहीका लागि पत्र काट्ने क्षेत्रीय सभापति लुंगेलीलाई नै कारवाहीको माग राखेका छन् ।

श्रेष्ठले क्षेत्रीय सभापति लुंगेली,कांग्रेस मधेश प्रदेश समिति र केन्द्रीय समितिलाई बोधार्थमा राखेर काटेको पत्रमा स्थानीय निकायको निर्वाचन २०७९ बैशाखमा पार्टीका उम्मेदवारलाई हराउन अन्तरघात भएको र प्रदेश तथा संघको उम्मेदवार सिफारिस गर्दा एकलौटी गरिएको उल्लेख गरेका छन् ।
यता,लुंगेलीले पार्टीको विधान र नीयमावली विपरित गठबन्धका उम्मेदवारलाई सहयोग नगरी बागी उममेदवारहरुलाई सहयोग गरेको,पार्टीको कार्यक्रमहरु तथा बैठकमा समेत उपस्थित नभएको लगायतका आरोप लगाएका छन् ।
दुई दिनअघि क्षेत्रीय कार्य समितिले गठवन्धनको उम्मेदवारको चुनावी प्रचारप्रसारमा सामेल नभएको भन्दै पत्र काटेपछि श्रेष्ठले पनि काउण्टर पत्र सार्वजनिक गरेका हुन् । नेता श्रेष्ठ संस्थापन पक्षका हुन् भने क्षेत्रीय सभापति लुंगेली संस्थापन ईतर समूहका हुन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech