जिल्ला प्रहरी कार्यालय सर्लाहीले“लागुऔषध सेवनकर्ता खोजी एवम सुधार अभियान २०८३” अन्तर्गत दोस्रो चरणको अभियान औपचारिक रूपमा शुभारम्भ गरिएको छ।मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम धनुषाद्वारा सञ्चालन सुरु गरेको“लागुऔषध सेवनकर्ता खोजी एवम सुधार अभियान २०८३” अन्र्तगत सर्लाहीमा दोस्रो चरणको अभियान औपचारिक रूपमा शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको प्रमुख अतिथिमा अभियानको दोस्रो चरणको शुभारम्भ गरिएको हो ।
मलंगवा नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकै प्रहरी चौकी गोरखकाली परिसरमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवम प्रहरी नायव उपरीक्षक सरोज राई,विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि,मलंगवा नगरपालिकाका जनप्रतिनिधिहरुका साथै विभिन्न संघ/संस्थाहरुका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव उपरीक्षक राईले अभियानको उद्देश्य,प्रभावकारिता तथा आगामी योजनाबारे जानकारी दिए। उनका अनुसार अभियान अन्तर्गत सीमावर्ती क्षेत्रमा “ड्रग्स टेस्टिङ चेक पोइन्ट” स्थापना गरिने छ भने ड्रग्स टेस्ट किट प्रयोग गरी लागुऔषध सेवन गरे–नगरेको परीक्षण गरिने छ।साथै सीमावर्ती क्षेत्रमा नियमित आवत जावत गर्ने युवा–युवतीहरूको तथ्यांक संकलन गरी निगरानी गर्ने योजना समेत रहेको उनले बताए।
लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि अभियानलाई जिल्लाभर निरन्तर रूपमा सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवम प्रहरी नायव उपरीक्षक राईले प्रतिबद्धता व्यक्त गरे।उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एवम सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले अभियानको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै युवापुस्तालाई लागुऔषधको कुलतबाट बचाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।