सव इन्जिनियर यादवको हत्याका कसूरदार पक्राउ गर्ने चार प्रहरी पुरस्कृत

227 Shares

पूर्वाधार विकास कार्यालय मलंगवामाा कार्यरत सव इन्जिनियर प्रमोद कुमार यादवको हत्यामा संलग्न कसूरदार पक्राउ गर्न सक्रिय भएर लागेका चार जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । सिरहाको सुखीपुर नगरपालिका ९ बैशाखा घर भई मलंगवा नगरपालिका १० मा डेरा गरी बस्ने पूर्वाधार विकास कार्यालय सर्लाहीका सव इन्जिनियर अन्दाजी ३६ वर्षिय यादवको फागुन ३ गते आईतबार हत्यापछि भागेका कसूरदारहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल चार जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकी,केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)बाट खटिएका प्रहरी निरीक्षक वीरेन्द्र बि.सी,प्रहरी नायब निरीक्षक सुजन पुडासैनी र प्रहरी जवान अजय सहनी रहेका छन् ।
घटनाको सफल अनुसन्धान गर्ने प्रहरी कर्मचारीहरुको मनोबल बढाउने उद्देश्यले नगदसहित पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।उनका अनुसार पुरस्कृत हुने प्रहरी कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का सहितका प्रहरी अधिकृतहरुले पुरस्कृत गरेका हुन् ।
प्रहरीले हत्याका मुख्य योजनाकार महोत्तरीको रामगोपालपुर नगरपालिका ५ घर भइ सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत प्राविधिक सहायक अन्दाजी ३४ वर्षीय गणेश कुमार महतोसहित उनको सालो सर्लाहीको बसबरिया गाउँपालिका २ मानपुरका अन्दाजी २२ वर्षीय चन्द्र किशोर सिंह कुशवाहा र मुख्य योजनाकार गणेश कुमारका भाइ अन्दाजी २२ वर्षीय विजय कुमार महतोलाई पक्राउ गरेको छ ।
मुख्य योजनाकार गणेशकुमारले सव इन्जिनियर यादवलाई जागिरको लोभमा परेर गोली प्रहार गरी हत्या गरेको खुलेको प्रहरी स्रोतले जनाएको छ।एक वर्षअघि सव इन्जिनियर यादव लोक सेवा आयोगको परीक्षामा उर्तीण हुँदा हत्याका मुख्य योजनाकार गणेशकुमार बैकल्पिक उम्मेदवारको सूचीमा परेका खुलेको हो ।

सम्बन्धित समाचार