दक्षिण ललितपुर,जहाँ प्रकृति छ,उत्पादन छ,इतिहास छ तर विकासको अनुभूति अझै अपूरो छ । यही यथार्थलाई उजागर गर्ने उद्देश्यसहित “गफगाफ दक्षिण ललितपुरको”कार्यक्रम ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लेजर पार्कमा सम्पन्न भएको छ ।स्थानीय मुद्दा,समस्या र सम्भावनालाई एकै थलोमा छलफल गर्ने यो कार्यक्रम पिपुल्स फस्र्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर लेलेका सामाजिक अभियन्ता सनोज महतको समन्वयमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य उपस्थिति थियो ।
दक्षिण ललितपुरका तीनवटा पालिकामा करिब ३३ हजार सात सय जनसंख्या,३१ हजार पाँच सय मतदाता र दुई सय ३८ वर्ग किलोमिटर क्षेत्रफल रहेको कार्यक्रमलाई सम्बोधन गर्दै समन्वयकर्ता महतले जानकारी दिए ।
उनले दक्षिण ललितपुर विकासका दृष्टिले पछाडि परेको नभई अपार सम्भावना बोकेको भूगोल रहेको बताए।“कृषि र पर्यटन यहाँको विकासको मेरुदण्ड बन्न सक्छ, तर त्यसका लागि व्यवस्थित शहरीकरण र योजनाबद्ध बस्ती विकास अनिवार्य छ ।”उनले बताए ।महतले भिरपाखामा रहेका असुरक्षित बस्तीलाई टुङ्गुन करिडोर,बागमती करिडोर र दुर्लुङ करिडोरतर्फ स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।“अहिले रहेका केही बस्तीलाई दीर्घकालीन रूपमा हरियाली र जंगलमा परिणत गर्न सकिने उनको सुझाब छ ।
दक्षिण ललितपुरमा हरेक वर्ष करिब रु चार अर्ब बराबरको बजेट जाने गरेको उल्लेख गर्दै बजेट अनुपातमा प्रतिपरिवार करिब रु ६० हजार र प्रतिव्यक्ति रु १० हजार पर्न जाने भएपनि राज्यको लगानी उपलब्धि भने शून्य जस्तै रहेको महतले बताए ।स्थानीय बासिमा आफ्नो भूमिप्रति माया र स्नेह हुँदाहुँदै पनि काठमाडौं र ललितपुरका शहरी क्षेत्रमा बसाइँ सर्न बाध्य अवस्था सिर्जना भएको प्रति उनले चिन्ता व्यक्त गरे ।
जनसंख्या र मतदाता सूचीबीचको असन्तुलनलाई गम्भीर समस्याको रुपमा लिनु पर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन्।“जनगणना हुँदा मानिस जहाँ बस्छ,गणना त्यहीँ हुन्छ,तर मतदाता नामावली भने अर्कै ठाउँमा रहन्छ,यो समस्या दक्षिण ललितपुरमा मात्र नभई मनाङजस्ता जिल्लामा पनि देखिएको छ ।”सहभागीहरुले बताए ।यसका साथै कार्यक्रममा उपस्थित सरोकारवालाहरूले दक्षिण ललितपुरबासी कुनै पनि समय काठमाडौं तथा ललितपुरका शहरी क्षेत्रमा बसाइँ सर्न सक्ने अवस्था रहेको उल्लेख गर्दै स्थानीय प्राकृतिक स्रोतहरु ढुंगा,गिट्टी र बालुवालाई व्यवस्थित र दीगो रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।