विद्यार्थीमाथि अभद्र व्यवहार प्रयोग गरेको आरोपमा प्रधानाध्यापक माथी कुटपिट,एक जना युवक पक्राउ

173 Shares

सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह मा.वि.का प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यार्थीहरूले विद्यालय परिसरमै कुटपिट गरेका छन्।प्रधानाध्यापक झाले विद्यार्थीमाथि अभद्र व्यवहार तथा अपशब्द प्रयोग गरेको आरोपमा आक्रोशित विद्यार्थीहरूले उनलाई विद्यालय परिसरमै कुटपिट गरेको पाइएकोे छ।विद्यार्थीहरूको समूहले प्रधानाध्यापक झामाथि आक्रमण गर्न थालेपछि विद्यालय परिसर केहीसमय तनावपूर्ण अवस्था सिर्जना भएको स्थानीयले बताए ।
आक्रोशित विद्यार्थीहरूले प्रधानाध्यापक झा चढ्ने टाटा कम्पनीको कार समेत तोडफोड गरेका छन्।घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बलरा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) मधुवनीको संयुक्त टोलीले प्रधानाध्यापक झालाई उद्धार गरेका थिए ।
विद्यालयमा लामो समयदेखि कार्यरत प्रधानाध्यापक झा यसअघि पनि विभिन्न विवादमा पर्दै आएका स्थानीयको भनाइ छ। केही समयअघि विद्यालयको रंगरोगनका लागि ल्याइएको पेन्ट निजी गाडीमा राखेर आफ्नो घरतर्फ लैजाँदै गरेको अवस्थामा विद्यार्थी तथा अभिभावकहरुले उनलाई नियन्त्रणमा लिएका थिए ।
प्रधानाध्यापक झामाथि भएको कुटपिटको घटनाप्रति बलरा नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ।नगरप्रमुख रमाशंकर कुशवाहाले सामाजिक सञ्जालमार्फत घटनाको वास्तविकता पत्ता लगाउन नगर शिक्षा समितिको नेतृत्वमा छानबिन टोली गठन गर्ने नगर प्रमुख कुशवाहाले बताए।नगरप्रमुख कुशवाहाले विद्यालय शान्ति क्षेत्र भएकाले कुनै पनि पक्षबाट विद्यालयको शैक्षिक वातावरण र शान्ति–सुरक्षामा असर पर्ने गतिविधि नगर्न आग्रह गरे।
विद्यालयभित्र शिक्षक र विद्यार्थीबीच उत्पन्न विवाद कुटपिट र तोडफोडसम्म पुगेपछि घटनाले विद्यालयको अनुशासन,शिक्षक–विद्यार्थी सम्बन्ध तथा शैक्षिक वातावरण प्रति समेत प्रश्न उठाएको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन्।नगरपालिकाले गठन गर्ने छानबिन समितिको प्रतिवेदनपछि घटनाको वास्तविक कारण र दोषी पक्षबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
यता,जिल्ला प्रहरी कर्यालय सर्लाहीले घटनामा संग्लग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ।बलरा नगरपालिका–२ का अन्दाजी वर्ष २० का अभिषेक कापडलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार