लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)नेपालमा शीर्ष नेताहरुले श्रीमती,सम्धी–सम्धिनी,छोरी ज्वाइँलाई मनोनित गरेर जम्बो पदाधिकारी बनाएको छ ।अध्यक्ष महन्थ ठाकुरले पार्टीका नेताहरुसँग परामर्श गरेर ६३ जनाको पदाधिकारी बनाएका छन् ।पछिल्लो कार्यकारिणी बैठकले केन्द्रीय समिति विस्तार गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई दिएको थियो । त्यस अनुसार उनले पदाधिकारी र केन्द्रीय सदस्य थप गरेका हुन् ।उनले राजेन्द्र महतोसँगै शरतसिंह भण्डारी र अनिलकुमार झालाई पनि वरिष्ठ नेता बनाएका छन् भने वरिष्ठ सह अध्यक्ष सर्वेन्द्र नाथ शुक्ललाई बनाएका छन् ।
अध्यक्ष ठाकुरले पूर्व प्रदेश प्रमुख समेत रहेका सम्धी उमाकान्त झालाई वरिष्ठ उपाध्यक्ष बनाएका छन् ।उनीसँगै जितेन्द्र सोनल,लक्ष्मणलाल कर्ण,अकवार अहमद शाह,निर्जला राउत र प्रदीप नारायण यादवलाई पनि वरिष्ठ उपाध्यक्ष बनाएका छन् ।ठाकुरले समानुपातिकतर्फ मधेशी कोटामा पहिलो नम्बरमा रहेकी सम्धिनी इन्द्रा झालाई उपाध्यक्ष बनाएका छन् । थ्रेसहोल्ड नकटेपछि सांसद बन्न नपाएकी उनी पार्टीमा उपाध्यक्ष बनेकी छन् ।
ठाकुरले छोरी मीनाक्षी झालाई केन्द्रीय सदस्य बनाएका छन् ।सम्धी उमाकान्त झाका भतिजा सञ्जिव झालाई सचिव बनाएका छन् ।वरिष्ठ नेता महतोका भतिजा उपेन्द्र महतोलाई महासचिव बनेका छन् ।उनी हाल मधेश प्रदेश सरकारका प्रदेशसभा सदस्य हुन् । यस्तै महतोका ज्वाइँ अनिल महासेठ महासचिव बनेका छन् ।उनी पार्टीको केन्द्रीय सदस्य मात्र थिए ।अर्का वरिष्ठ नेता भण्डारीले श्रीमती निर्जलालाई वरिष्ठ उपाध्यक्ष बनाएका छन् भने छोरी सृष्टिलाई सचिव बनाएका छन् । लामोसमय सम्म पदाधिकारीहरु एवम सदस्यहरुको टुंङ्गो लाउन नसकेको लोसपाले यसपटक टुंङ्गो लगाएको भएपनि परिवारवादको अर्काे नाम लोसपा भएको राजनितिक जानकारहरु बताउँछन् ।