सिन्धुलीको कमलामाई नगरपालिका १० कुलोखोलाबाट वन पैदावार चोरी तथा ओसारपसारमा संग्लग्न रहेको मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । कमलामाई नगरपालिका १० कुलोखोलाबाट वन पैदावार चोरी तथा ओसारपसारमा संग्लग्न रहेको अन्दाजी वर्ष ३३ का जनक बहादुर सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार बिना इजाजत सालको काठ ओसार पसार गरेको मुद्दामा सिन्धुली जिल्ला अदालतले २०८० मंसिर २६ गते सार्कीलाई दोषी ठहर गरेको थियो।अदालतको फैसला अनुसार,सार्कीलाई तीन दिन कैद र रु आठ हजार जरिवाना तोकिएको थियो। अदालतको फैसला लगत्तै सार्की फरार भएका थिए ।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका सार्कीलाई विशेष सूचनाको आधारमा उनको घरैमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।त्यसैगरी,हातहतियार खरखजना मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ।कमलामाई नगरपालिका १३ माथिल्लो रानिबासका अन्दाजी ५१ वर्षीय केशव हायुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
हायुलाई सिन्धुली जिल्ला अदालतले २०८१ जेठ १६ गतेको फैसला अनुसार हातहतियार खरखजना मुद्दामा दुई महिना २६ दिन कैद सजाय सुनाएको थियो।फैसलापछि फरार रहेका उनी लामो अनुसन्धान र खोजतलासपछि पक्राउ परेका सिन्धुली प्रहरीले जनाएको छ ।प्रहरी नियन्त्रणमा आएपछि हायुलाई आवश्यक काबाृहीका लागि जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको छ ।