महोतरीको कारागारमा रहेका “लिटिल बुद्ध”भनेर चिनिने “तपस्वी”रामबहादुर बम्जनले बालिकामाथि कसुर गरेको ठहर भएको छ ।सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको ईजलासले पूर्पक्षका लागि महोत्तरी कारागारमा रहेका“तपस्वी”बम्जनबाट बालिकामाथि कसुर गरेको ठहर गरेको हो ।
सरकारी वकिल कार्यालय सार्लहीले पेश गरेको अभियोजन अनुसार सोमबारको ईजलासबाट“लिटिल बुद्ध”भनेर चिनिने “तपस्वी”रामबहादुर बम्जनले बालिकामाथि कसुर गरेको ठहर भएको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।उनका अनुसार अभियुक्त बम्जनलाई कति सजाय हुने भन्ने विस्तृत फैसलाचाहिँ असार १७ गते आउने छ ।
गत पुस २६ गते सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि अभियुक्त बम्जन महोत्तरी कारागार जलेश्वरमा रहेका छन् ।“यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण”अभियोगमा पूर्पक्षमा रहेका बम्जन निर्दाेष रहेको दाबी सहित सोमबारको ईजलासमा वरिष्ठ अधिवक्ता सिताराम के.सी एवम अधिवक्ताहरु राम घिमिरे,मनोहर झा,राष्ट्र विमोचन तिमल्सिना र दिलिप झाले बहस गरेका थिए भने अभियोग बमोजिम कैद सजायको माग सहित जिल्ला सरकारी वकिल कार्यालय मलंगवा सर्लाहीका प्रमुख जिल्ला न्यायधिवक्ता कैलाश दाहालले बहस गरेका थिए ।यसअघि ३ पटकसम्म बम्जन विरुद्धको मुद्धा पेशी चढेपनि पेशी सारिएको थियो ।
गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ६ स्थित निवासबाटै पक्राउ गरेको थियो ।२०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बाराको निजगढ नगरपालिका–१२ रतपुरी निवासी अन्दाजी ३० वर्षीय बम्जन विरुद्ध पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएकमा थिए ।