हरिवनमा मानव सेवा आश्रम सञ्चालन, ‘सडक मानव’को उद्धार तिव्र,

3k Shares

 सर्लाहीको हरिवनमा प्रदेश नं. २ कै नमुना र ठूलो मानव सेवा आश्रम सञ्चालनमा आएको छ । हरिवन नगरपालिका ९  नयाँरोड चोकमा प्रदेश नम्बर २ कै ठूलो मानव सेवा आश्रम सञ्चालनमा आएको हो । आश्रममा अशक्त, बेसहारा, अभिभावक विहिन, मानसिक समस्याका विरामी एवम सडकमा मागेर हिँडने बालबालिका तथा ‘सडक मानव’ लाई उद्धार गरि राख्न सकिने हरिवन नगरपालिका ९ का वडा अध्यक्ष सिताराम पोख्रेलले जानकारी दिनुभयो ।
हरिवन नगरपालिका–९, नयाँरोड चोक स्थित ज्ञानज्योति विद्यालयको पूरानो भवनलाई आश्रमको रुपमा सञ्चालनमा ल्याईएको आश्रम अभिभावक परिवारका सदस्य एवम हरिवन नगरपालिका वडा नं. ११ का वडा सदस्य सुकदेव कार्कीले जानकारी दिनु भयो । आश्रममा हालसम्म ६० जनाभन्दा बढीलाई ल्याएर राखिसकिएको उहाँको भनाई छ ।  हरिवनका १० जनाबाट राख्न सुरुगरिएको आश्रममा अहिले ६० जना रहेका छन् । गत सोमबार हरिवन नगरपालिका–४, पटौंनाका तीनजना मानसिक समस्या भएकालाई राखिएको थियो । उनबहादुर कार्कीका तीन भाई छोरा मध्ये कान्छो छोरा रुद्रबहादुर कार्कीलाई भने गम्भिर मानसिक समस्या भएका कारण हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईंको अगुवाईमा थप उपचारका लागि पाटनको मानसिक अस्पताल पठाईएको छ ।
हरिवन नगरपालिकाका र लालबन्दी नगरपालिकाको नवलपुर लगायतको स्थानबाट गरि १० जना अशक्त, बेसहारा, अभिभावक विहिन, मानसिक समस्याका विरामी एवम सडकमा मागेर हिँडने बालबालिका तथा ‘सडक मानव’ लाई उद्धार गरि राख्नु सुरु गरिएको  हरिवन नगरपालिकाकी उप प्रमुख रेणुका पौडेलले जानकारी दिनु भयो । गत सोमबार सप्तरी, सिराहा, धनुषा, महोत्तरी लगायत जिल्लाबाट समेत सडकमा मागेर हिँड्ने ५० जना भन्दा बढीलाई आश्रममा ल्याइ राखिएको छ । भने अरु जिल्लाहरुबाट पनि त्यस्ता मानिसहरु  ल्याएर राख्ने काम हुने कार्कीले बताउनु भयो ।
हरिवनको आश्रम भने प्रदेश नं. २ कै नमूना र २ सय जनासम्म राख्न सकिने गरी पूर्वाधार विकासको काम भईरहेको कार्कीले जानकारी दिनु भयो । तत्काल मासिक ४२ हजार रुपैंया भाडा तिर्ने गरी आश्रम सञ्चालनमा ल्याईएको र भविष्यमा हरिवन नगरपालिका–८ स्थित फेदिमा नगरपालिकाले उपलब्ध गराएको १ विगाह जग्गामा आश्रम भवन निर्माण गर्ने तयारी भईरहेको कार्कीको भनाई छ । आश्रमको भाडा बापतको रकम तिर्न हरिवन नगरपालिकाले वार्षिक रु २ लाख उपलब्ध गराउने भएको छ भने भवन निर्माणका लागि रु ८ लाख बजेट छुट्याई सकेको कार्कीले बताउनु भयो ।
आश्रमले मुठी दान, मासिक दाता, वार्षिक दाताको रुपमा सहयोग संकलन गरिरहेको छ । हाल संघ, प्रदेश र स्थानीय सरकार तथा नेपालमै रहेका मनकारी दाताबाट आर्थिक सहयोग संकलन गरेर आश्रम सञ्चालनमा ल्याईएको कार्कीको भनाई छ । आश्रम सञ्चालनका लागि हरिवन नगरपालिकाले तत्काल २० जनाका लागि ओढ्नेओछ्याउने,पकाउने र खाने भाँडाकुँडा, १–१ जोर न्यानो कपडा, चप्पल, भट्टे चुलो, थाल, कचौरा, गिलाँस लगायत सामग्री सहयोग गरेको नगर प्रमुख प्रसाईका स्वकिय सचिव युवराज आचार्यले जानकारी दिनु भयो ।
पुस ८ गतेदेखि माघ ८ गतेसम्मका लागि मेची–महाकाली राष्ट्रिय उद्धार कार्यक्रम सञ्चालन गरेको मानव सेवा आश्रमले उद्धार गरिएकालाई आफूले सञ्चालन गरेको मुलुकका विभिन्न स्थानमा रहेको आश्रमहरुमा लगेर राख्ने बताईएको छ । कार्कीका अनुसार आश्रममा राखिएकाहरुलाई मानसिक रोग सम्बन्धी विशेषज्ञबाट स्वास्थ्य परीक्षण, परामर्श तथा औषधी गरिने छ ।

सम्बन्धित समाचार