Close This

राष्ट्रिय गौरवको आयोजनाको भौतिक संरचना निर्माण निरन्तर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२ गते   ३२३ पटक हेरिएको

जिल्लाको लालबन्दी नगरपालिका ६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले विषालु सर्प पाल्नका लागि खरिद गरेको जग्गा खाली गर्ने काम अन्तिम चरणमा पुगेको छ  ।  प्रतिष्ठानले विषालु सर्प पालनका लागि खरिद गरेको साढे ८ विघा जग्गा खालि गर्ने काम अन्तिम चरणमा पुगेको आयोजना निर्देशक उमेश बरालले बताउनु भयो ।
किसानहरुलाई जग्गा खालि गराउन अग्रीम सुचना दिईएकोमा हाललाई रुख, बोटबिरुवा आदि हटाईएको भए पनि केहि जग्गामा उखु बाली भएको र किसानहरुको उखु कटानको चलान समेत नआईपुगेको गुनासो आएपछि  किसानहरुको बर्षौको मेहनतलाई मध्यनजर गर्दै खाली गर्न केहि समय थप गरिएको उहाँले बताउनु भयो ।  केहि दिनमा अर्को सूचना निकाली ठेक्काको पक्रिया र जमिन सम्याउने काम समेत एक साथ अगाडी बढाईने उहाँले बताउनु भयो ।
नेपालभित्र  ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न नसकेको र सर्पदंशको उपचारमा पनि नेपालीहरु भारतसँग निर्भर हुनु परिरहेको अहिलेको अवस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानले स्वदेशमै ल्याब स्थापना गर्न लागेको हो । एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान  परियोजनाका लागि संघीय ,प्रदेश र लालबन्दी नगरपालिका गरी तीन वटै निकायकोे सरकारसँग सम्झौता गरिसकेको नेपाल कम्युनिष्ट पार्टि(नेकपा) सर्लाहीका अध्यक्ष  एवम झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताउनु भयो । 
प्रतिष्ठानले टेण्डर आव्हान गरेपछि दर्ता हुन आउने संस्थालाई पक्रिया मिलाएर स्वीकृति गर्नु पर्ने थप काम बाकि रहेकोले क्रमागत रुपमा फागुनको पहिलो सातादेखी  कम्पाउण्ड सहित हस्पिटल भवन र अन्य संरचना निर्माणको काम अगाडि बढाईने अध्यक्ष पन्तले बताउनु भयो। 
उहाँका अनुसार अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने छ । यसरी उत्पादन गरिने विष सुरुमा भारतका ल्याबमा पठाई ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाउने योजनामा आफु रहेको अध्यक्ष पन्तले बताउनु भयो ।
नेपालको विभिन्न भूभागबाट ल्याईने घोडा र सर्प संरक्षणका लागि प्रतिष्ठानले थप योजना ल्याउनेछ । ‘विश्व बजारमा माग उच्च रहेको उद्योग र अनुसन्धान केन्द्र नेपालमा सञ्चालन हुनु देशका लागि गौरबको विषय भएको साथै स्थानीय स्तरमै सयौको संख्यामा रोजगारीको अवसर सृजना हुनुका साथै लाखौ मानिसको जीवनमा प्रतक्ष्य, अप्रत्यक्ष सकारात्मक प्रभाब पर्ने अध्यक्ष पन्तको विश्वास छ ।
बिषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा मात्र वर्सेनी २हजार ५ सय भन्दा वढि मानिसहरुको ज्यान जाने गरेको छ । बिषालु सर्पले डसेको एक जना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ । नेपालका सवै क्षेत्रका लागि आवश्यकता अनुसार वार्षिक १० लाखसम्म भायल एन्टी भेनम आवश्यक पर्ने बिज्ञहरुले बताएका छन् । हाल नेपालमा सर्पको विष विरुद्धको औषधि भारतबाट आयात हुन्छ । एन्टी स्नेक भेनमको माग नेपालको तराईमा मात्र नभई बिश्वभर नै छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech