कात्तिक २४ गते २५७ औं ऐतिहासिक सिन्धुलीगढी विजय उत्सव,

393 Shares

ऐतिहासिक सिन्धुलीगढीको  दुई सय ५७ औं विजय उत्सव मनाईएको छ।२०६७ साल कात्तिक २४ गतेबाट मनाउन शुरु गरिएको विजय उत्सव त्यस यता हरेक वर्ष कात्तिक २४ गते मनाउने गरिए अनुसार नेपाल एकिकरण अभियानमा गोर्खाली फौजले सिन्धुलीगढीको युद्धबाट अंग्रेज फौजलाई पराजित गरेको सम्झना स्वरुप शनिबार दुई सय ५७ औँ विजय उत्सव मनाईएको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोखरेलले जानकारी दिए ।
उनका अनुसार २०६७ साल कात्तिक २४ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले विजय उत्सव मनाउन सुरु गरेको र शनिबार दुई सय ५७ औँ विजय उत्सव मनाईएको हो ।विक्रम संवत् १८२४ मा अंग्रेजलाई हराएर ब्रिटिस् साम्राज्यको पञ्जामा पर्नबाट वीर नेपालीले वीरतापूर्वक परास्त गरेको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीवासीले विजय उत्सव मनाउने गरेका हुन।जस अनुसार कमलामाई नगरपालिकाको आयोजनामा सिन्धुलीगढीको ठूलोगढी किल्लामा झण्डोत्तोलन गर्ने लगायत गढीको ऐतिहासिक महत्वको बारेमा चर्चा गर्दै विजय उत्सव मनाईएको हो ।
एकिकरणका बेला वि. सं. १८२४ मा कप्तान जर्ज किनलकको नेतृत्वमा आधुनिक हतियार सहित आएका अंग्रेज फौजलाई वंशु गुरुङको नेतृत्वमा रहेको गोर्खाली फौजले घरेलु हतियार बाटै परास्त गरेको सिन्धुलीगढीको इतिहास रहेको स्थानीय जानकार सागर ढकालले बताए ।उनका अनुसार काठमाण्डौ कब्जा गर्ने उद्धेश्यले आएको इष्ट इण्डिया कम्पनीको किनलक नेतृत्वको सेनाको फौजलाई गोर्खाली सेनाको फौजले हराएको बिरासत सिन्धुलीगढीले बोकेको छ ।
नेपाल–अङ्ग्र्रेज युद्धको कथा जोडिएको ऐतिहासिक सिन्धुलीगढी इष्ट इण्डिया कम्पनीका क्याप्टेन किनलकको नेतृत्वमा आएका दुई हजार चार सय अङ्ग्रे्रेज फौजलाई गोरखाली सेनाले लखेटेको घटनाले सिन्धुलीगढीको इतिहासलाई थप रोमाञ्चक बनाएको छ । 
सिन्धुलीगढीको इतिहास
गोरखाका तत्कालीन राजा नरभूपाल शाह वृद्ध भइसकेका थिए।गोरखा आसपासमा विभिन्न ५२ वटा स साना राज्य सञ्चालनमा भए पनि उमेरका कारण राज्य विस्तारले गति लिन सकेको थिएन।राज्य विस्तारका क्रममा गरिएको आक्रमण पनि हारमा परिणत हुँदै थियो।तत्कालीन राजा शाहको मृत्युपश्चात् उनका जेठा छोरा पृथ्वीनारायण शाह गोरखा राज्यको राजगद्दीमा आसीन भए ।विसं १७७९ पुस २७ गते सात महिनामा जन्मिएका भनिएका शाह विसं १७९९ मा गोरखा राज्यको राजा हुँदा जम्मा २० वर्षका थिए।५२ वर्ष मात्रै बाँचेका तत्कालीन राजा शाहले काठमाडौँ उपत्यकासहित गोरखा आसपासका स साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माताका रूपमा पहिचान बनाउन सफल भए ।
राज्य विस्तारको तीव्र भोक जागेको तत्कालीन राजा शाहलाई एकपछि अर्को सफलता हात लागिरहेको थियो।गोरखा आसपास रहेका सेन राज्य,(हालका मकवानपुरगढी,सिन्धुलीगढी), सिम्रौनगढ राज्य विस्तारपछि उनले नुवाकोटलाई गोरखा राज्यमा गाभ्न सफल भए। कीर्तिपुरमा तेस्रो पटकको आक्रमणपछि गोरखाली सेना विसं १८२२ चैत ३ गते गोरखा राज्यको झन्डा फहराउन सफल भयो।कीर्तिपुरको हार र गोरखाली सेनाको निरन्तर विजयी यात्राले आत्तिएका कान्तिपुर,ललितपुर र भक्तपुरका राजाले गोप्य बैठक गरे।उनीहरूले गोरखाली सेनाविरुद्ध एकजुट भएर प्रतिकार गर्ने वाचा गरे।आपसमै लडिरहेका नेपाल उपत्यकाका राजाहरूबिच भएको सहमतिप्रति विश्वस्त हुन नसकेका कान्तिपुरका तत्कालीन राजा जयप्रकाश मल्लले भारतमा राज्य विस्तारमा उधुम मच्चाइरहेको इस्ट इन्डिया कम्पनीसँग सैनिक सहयोगका लागि याचना गरे ।
नेपाल राज्य (कान्तिपुर,पाटन र भादगाउँ) लाई गोरखाली सेनाको हस्तक्षेपबाट जोगाउन सके नेपालको पूर्वी क्षेत्रमा रहेको चौदण्डी राज्यसँग सल्लाको खोटोको व्यापारका साथै तिब्बत र चीनसँग व्यापार सम्बन्ध विस्तार गरी लाभ लिने सपनासहित इस्ट इन्डिया कम्पनी सहयोग गर्न तयार भयो।कान्तिपुरका तत्कालीन राजा मल्लको आग्रह स्विकार्दै भारतमा इस्ट इन्डिया कम्पनीको नेतृत्वमा राज्य विस्तारमा चतुर एवम सफल सेना कमान्डर क्याप्टेन जर्ज किनलकको नेतृत्वमा दुई हजार चार सय अङग्रे्रेज सेनाको फौज नेपाल पठाइयो ।कलकत्ता, विहार,पटना, दरभङ्गा धनुषा हुँदै नेपाल पसेका अङ्ग्रे्रेज सेनालाई तोप बारुदसहित काठमाडौँ पुग्न सजिलो थिएन।बर्खे भेलसँगै नयाँ भूगोलमा सिन्धुलीमाढी आइपुग्दा अङ्ग्रे्रेज सेना थाकि सकेका थिए।यता औलो ज्वरोले अङ्ग्रे्रेजहरू धमाधम बिरामी परिरहेका थिए।उता क्याप्टेन किनलन गन्तव्यमा नपुगी फर्किने सुरमा थिएनन् ।   
ढुङ्ग्रे्रेबासदेखि नै गोरखाली सेना घरेलु हातहतियारसहित अङ्ग्रेजमाथि आक्रमणमा उत्रिए। चियाबारीबाट सिर्वानीको उकालो हुँदै आउने बैरीमाथि ढुङ्ग्रेभन्ज्याङमा तैनाथ गोरखाली फौजले ढुङ्गा बर्सायो ।यता पौवागढीमा रहेको फौजले धनमना खोला हुँदै उकालो लागेको फौजमाथि आक्रमण ग¥यो।पहाडको माथिबाट आएका ठुलठुला ढुङ्गा,सिस्नो र अल्लोको पीडा, अरिङ्गालको टोकाइले कैयौँ अङ्ग्रे्रेज सेनाको हताहती भयो । पौवागढीभन्दा पूर्व पाँच सय मिटर तल,हाल सिमेन्टले बनेको सिन्धुलीगढी प्रवेशद्वारबाट लुकेर अङ्ग्रे्रेज फौज अगाडि नबढून् भनेर पासो थापिएको थियो । 
यसरी हायल कायल भएर विसं १८२४ असोज १५ गते आठ सय सेना लिएर क्याप्टेन किनलक फिर्ता भए।विसं १८२४ असोज १५ गतेलाई गोरखाली फौजले सिन्धुलीगढी युद्ध विजय गरेको मानिन्छ।विजयोत्सवको औपचारिक कार्यक्रम भने कात्तिक २४ लाई आधार बनाएर मनाउने गरिएको छ।सिन्धुलीगढीमा गोरखाली फौजले अङ्ग्र्रेज फौजलाई हराएर विसं १८२४ असोज १५ गते युद्ध जितेको जानकार सागर ढकाल बताउँछन् ।
सिन्धुलीगढीमा गोरखाली सेना र अङ्ग्रेज सेनाबिच भएको लडाइँको इतिहाससँगै यस आसपासका बस्ती चपौली,मजुवा,बाटोनिगाले,कुँडुले,विजयछाप,खनियाखर्क,खानीगाउँ, ढुङग्रेभन्ज्याङ,बोहोरे आदिसँग स्थानीय बासिन्दाको जीवन सभ्यता जोडिएको छ।विसं २०१९ सम्म सिन्धुली जिल्लाको प्रशासनिक केन्द्र सिन्धुलीगढी रहेको थियो।जेलघर,अदालत,हाइस्कुल, पानी सङ्कलन स्थल,ढुङ्गेधारो लगायतका भग्नावशेष अझै त्यहाँ देख्न सकिन्छ।गढीको उत्तरपूर्वमा रानीदरबार पुनर्निर्माण गरिएको छ।हाल राजमार्गभन्दा करिब एक सय मिटरमाथि पौवागढीमा राजस्व संकलन स्थल रहेको छ।यहाँ सिन्धुलीगढी आसपासका बासिन्दा आफूले उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री गरी आफूलाई चाहिने नुन,तेल,मटितेल, लुगाफाटो लगायतका सामग्री किनमेल गर्थे।२०१९ सालपछि भने जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सरेपछि स्थानीय बासिन्दा बजार भर्न माढीसम्म जानुपर्ने भयो ।
पौवागढीको उत्तरपूर्वमा अधेरी खोलाकिनार हुँदै रामेछाप तथा काठमाडौँ जाने पैदलमार्ग थियो ।दक्षिणतर्फ ढुङग्रेभन्ज्याङ हुँदै चियाबारी निस्किने मार्ग रहेको छ।केही समयअघि मात्रै उक्त मार्गलाई“किनलक मार्ग”नामकरण गरिएको छ।उक्त मार्गको नामप्रति स्थानीय बासिन्दाले असहमति जनाउँदै आएका छन्।सिन्धुलीगढीको इतिहासमा स्थानीय बासिन्दाको भूमिका महत्वपूर्ण छ।उक्त युद्धमा आसपासका गाउँबाट अन्नपानी,राँगा,बोका तथा गाउँलेले श्रमदान गरी गोरखाली सेनालाई सहयोग गरेका थिए। त्यसैले पनि स्थानीयवासीले उक्त मार्गको नामप्रति असहमति जनाएका हुन्।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा सरेपछि गढीको चहलपहल ठप्प भयो।मजुवा,चपौली, कुँडुले,बाटोनिगालेलगायतका गाउँ जान भने सिन्धुलीगढी हुँदै जानु पथ्र्याे।२०५२ सालमा तत्कालीन माओवादीले गरेको चौकी आक्रमणपछि पनि गढीमा प्रहरी चौकी तैनाथ थियो । संकटकालपछि भने गढीको प्रहरी चौकी सिन्धुलीमाढी सारिएको थियो।पौवागढीबाट घाँसको भारी लिएर आउजाउ गर्दा त्यहाँ खटिएका प्रहरीले गाली गर्ने भएकाले सोलाभन्ज्याङबाट घर आउने गरेको र त्यतिखेर सोलाभन्ज्याङमा घाँसी हिँड्ने बाटो रहेको जानकारहरु बताउँछन् ।
सिन्धुलीगढीमा रहेको टुँडिखेलमा हरितालिका तिजमा प्रत्येक वर्ष भव्य नाचगान तथा मेला लाग्ने गथ्र्यो।गढीको पूर्वतर्फ भग्नावशेष र जेलघरबाट दुई सय मिटरअगाडि काभ्राको फेदमा सिद्धथान मन्दिर अहिले पनि छ।उक्त मन्दिरमा तिज व्रतका दिन महिला दिदीबहिनीले पूजा गर्ने प्रचलन छ।सिन्धुलीगढीमा फागुन,चैतमा गुराँस फुलेर वन नै ढकमक्क भएको हुन्छ।त्यस्तै वैशाख,जेठमा टुँडिखेल आसपास काफल पाकेको हुन्छ।सिन्धुलीगढी र यस आसपासमा रहेका गाउँलेको सभ्यता यी स्थानसँग जोडिएको छ ।अहिले सिन्धुलीगढी संरक्षणका नाममा गढी क्षेत्रमा तारबार गरेर युद्ध सङ्ग्रहालय सञ्चालन गरिएको छ।इतिहासलाई संरक्षण तथा जगेर्ना गर्नु राम्रो हो।यसले नेपालीको गौरवपूर्ण इतिहासलाई पुस्तान्तरण गर्छ।आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्छ।सिन्धुलीगढी क्षेत्र प्रवेश गर्न शुल्क व्यवस्था गरिनु असान्दर्भिक हुन्छ।युद्ध सङग्रहालय प्रवेशमा शुल्क तोक्नु फरक विषय हो । 
सिन्धुलीगढी क्षेत्र पुनर्निर्माणपछि बनेका महत्वपूर्ण संरचनालाई स्थानीयवासीकै सहभागितामा सञ्चालन गर्नु पर्छ।रानीदरबार पुनर्निर्माण भएको लामो समय भएको भएपनि व्यवस्थापन कसले गर्ने भन्ने अन्योल हुँदा दिनप्रतिदिन भौतिक सम्पत्तिको क्षति हुने सम्भावना उत्तिकै छ । यता पुनर्निर्माण भइसकेको दरबार हेरचाहको जिम्मा कसैले नपाउँदा दरबार पुनःपुरानै अवस्थामा पुग्ने त हैन भन्ने आशंका पनि व्याप्त छ।सिन्धुलीगढीको गौरवशाली इतिहास, यहाँको पर्यावरणीय महत्व (महाभारत शृङखला) र स्थानीयवासीको सभ्यतालाई समेत ध्यान दिँदै गढीको विकास तथा योजनामा स्थानीयवासीको भावना र सहभागितालाई पनि ख्याल गर्दै स्थानीय सरकार वा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अगाडि बढ्नु पर्ने जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार