Close This

दाईको हत्या आरोपमा आफ्नै भाई र भाईका साथी पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-१४ गते   १६३० पटक हेरिएको

सर्लाहीको कविलासी नगरपालिका ८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाईसहित २ जनालाई पक्राउ गरेको छ । कविलासी नगरपालिका ८ अगर्वाका स्थानीय अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स ढंगले हत्या गरिएको अवस्थामा असार ७ गते बिहान शव फेला परेको थियो । प्रहरीले अमरेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा उनकै सहोदर भाई अमरकान्त ठाकुर र सोही ठाउँका रुपेश कुमार चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहले जनाएको छ ।
अमरकान्तले रुपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो ।उहाँका अनुसार मृतक अमरेन्द्र र भाई अमरकान्तबीच पहिले देखि नै विवाद भइरहने गरेको र असार ६ गते बेलुका पनि उनीहरु दुईबीच तरकारी ल्याउने विषयमा सामान्य विवाद भएपछि भाई अमरकान्तले गाउँकै साथी रुपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेका खुलेको हो ।
उनीहरुले अमरेन्द्रलाई असार ६ गते राती करिब ८ बजे खानपिनको व्यवस्था छ भनी अगर्वा चोकबाट पश्चिम सलेमपुर नहरतर्फ जाने कच्ची सडकको एकान्त ठाउँमा बोलाएर धारिलो हतियारले घाँटी रेटेर र शरीरका विभिन्न भागमा ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्दै जाँदा मृतकका भाई अमरकान्तले शङ्कास्पद व्यवहार देखाउन थालेपछि उनलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अमरकान्तले साथी रुपेशसँग मिलेर दाईको हत्या गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधब प्रसाद बुढाथोकीले बताउनु भयो । प्रहरीले उनीहरु दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।
युवकको विभत्स ढङ्गले हत्या भएको घटना लगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोखरेल,प्रहरी नायव उपरिक्षक बुढाथोकी र इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक विजय कुँवरसहितका प्रहरी अधिकारीहरु अनुसन्धानमा लागेका थिए । अमरेन्द्रको शव विभत्स ढङ्गले हत्या गरिएको अवस्थामा फेला पर्नासाथ मधेश  प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुर समेत मगाएर थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech