प्रत्येक परिवारमा कम्तीमा एकजनाको कोरोना परीक्षण गर्न निर्देशन

1.8k Shares

 राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले देशभर प्रत्येक परिवारमा कम्तीमा एकजनाको कोरोना संक्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले कोरोना रोकथामका लागि परीक्षणको दायरा विस्तार गरी प्रत्येक परिवारसम्म पुग्न निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमेत उपस्थित भएको बैठकले सबै स्थानीय तहमा आवश्यकतानुसारको स्वास्थ्य सामग्री पुर्‍याउन, राहत वितरणलाई व्यवस्थित गर्न र संक्रामक रोगसम्बन्धी एकीकृत कानुन बनाउनसमेत निर्देशन दिएको छ । सो अवसरमा स्वास्थ्यमन्त्री ढकालले सरकारले बेलैमा अपनाएको सावधानी र प्रयत्नका कारण नेपाल कोरोनाको उच्च जोखिमको सूचीबाट बाहिरिन सफल भएको दाबी गरे ।

मन्त्री ढकालले वैशाख २५ गतेपछि जनजीवनलाई सहजीकरण गर्ने तयारीमा सरकार रहेको बताए । समितिले सुरक्षात्मक मापदन्ड बनाएर ‘लकडाउन’ खुकुलो बनाउन, सीमा क्षेत्रमा रहेका नागरिकको उचित व्यवस्थापन गर्न, दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणको मापदन्ड बनाउन, कोरोना रोकथाम तथा उपचारमा निजी अस्पतालको उपयोग गर्न र विदेशबाट फर्कनेलाई रोजगारीको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

सम्बन्धित समाचार