सर्लाहीका तीन पालिकामा एकै साथ उप सचिव हाजिर भए,जनताका समस्या रहित बनाउने गरी काम गर्ने प्रतिवद्धता

477 Shares

सर्लाहीका तीनवटा पालिकामा बुधबार एकैसाथ प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर भएका छन्।जिल्लाको लालबन्दी,हरिवन र हरिपुर्वा नगरपालिकामा बुधबार प्रमुख प्रशासकीय अधिकृत(उप सचिवहरु) एकैसाथ हाजिर भएका हुन।जिल्लाको लालबन्दी नगरपालिकामा उप सचिव वसन्त न्यौपाने,हरिवन नगरपालिकामा उप सचिव देवेन्द्र सापकोटा र हरिपुर्वा नगरपालिकामा उप सचिव शम्भुप्रसाद यादव बुधबार एकैसाथ हाजिर भएका छन् ।
लालबन्दी नगरपालिका ७ स्थायी ठेगाना भएका उप सचिव न्यौपाने आफ्नै गृह नगरमा प्रमुख प्रशासकीय अधिकृत भएर आएका हुन् ।धनुषाको मिथिला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका उप सचिव न्यौपाने आफ्नै घर पायकको स्थानीय तह लालबन्दी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बुधबार हाजिर भएका हुन । 
गएको वर्ष सर्लाहीकै हरिपूर्वा नगरपालिकामा केही महिना प्रमुख प्रशासकीय अधिकृत भएर चलाएका उप सचिव न्यौपानेलाई लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारी, उप प्रमुख कल्पनामाया पाख्रिन,वडाध्यक्षहरु र कर्मचारीहरुले कार्यालयमा स्वागत गरेका छन् ।कामकाज गर्न असहज भएको र समन्वय नगरेको भन्दै नगरप्रमुख अधिकारीले यसअघिका उपसचिव धर्मानन्द जोशीलाई मंसिर १५ गते मन्त्रालय मै काज फिर्ता पठाए पछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो । 


हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा

यता,हरिवन नगरपालिकामा उपसचिव देवेन्द्र सापकोटा हाजिर भएका छन् ।मन्त्रालयले उपसचिव सापकोटालाई बाजुराको बडीमालिका नगरपालिकाबाट हरिवन नगरपालिकामा सरुवा गरेर पठाएको हो ।उनलाई हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल),उप प्रमुख हरिमाया घलान,वडाध्यक्षहरु र कर्मचारीहरुले कार्यालयमा स्वागत गरेका छन् ।गएको कात्तिक ३ गते उपसचिव सुरेन्द्र प्रधान सरुवा भएर गएपछि हरिवन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहनी भएको थियो । 

हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव
त्यस्तै हरिपुर्वा नगरपालिकामा उप सचिव शम्भुप्रसाद यादवलाई नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा मनत्रालयले पठाएको छ ।उपसचिव यादव यसअघि पनि दुई पटक हरिपुर्वा नगरपालिकामा हाजिर हुँदा केही घण्टामै सरुवा भएका थिए ।उनको बैशाख १७ गते हाजिर भएको एक घण्टामै र असोज १७ गते हाजिर भएको २४ घण्टामै जिम्मेवारी खोसिएको थियो ।
नगरप्रमुख विनोदकुमार साह तेली प्रमुख प्रमुख प्रशासकीय अधिकृत(उप सचिव)माग्दै कयौं पटक संघिय मामिला तथा स्थानीय विकास र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाएर उपसचिव यादवलाई तेस्रो पटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गराएर नगर प्रमुख साहले ल्याएका हुन ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा हरिपूर्वा नगरपालिकाले नगर सभा गर्न सकेको छैन् । प्रमुख प्रशासकीय अधिकृतको अभाव टरेपनियहाँ जनप्रतिनिधिहरुबीच हरिपुर्वा नगरपालिकामा विवाद कायमै रहेको छ ।
जनता र सेवाग्रहीको काम द्रुत गतिमा हुनुपर्ने भन्दै कर्मचारीहरुलाई तीनैजना प्रमुख प्रशासकीय अधिकृतहरुले निर्देशन समेत दिएका छन् ।उनीहरुले जनताले तिरेको करबाट आफुहरुले तलब भत्ता बुझेकोले सेवाग्राहीहरुको कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्न आफुपनि लागि पर्ने र कर्माचारीहरुले पनि सोही अनुसार काम गर्नुपर्ने बताएका छन् भने प्रमुख प्रशासकीय अधिकृत न्यौपाने,सापकोटा र यादवलाई स्वागत गर्दै तीनवटै स्थानीय तहका नगर प्रमुखहरुले  नगरका जनप्रतिनिधिहरु र कर्माचारीहरु मिलेर नगरका विकास निर्माणका साथै  जनताका समस्या रहित नगरपालिका बनाउन लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित समाचार