सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले साधारण तारेखमा राख्न आदेश दिएको छ ।विशेष अदालतका न्यायाधीश हेमन्त रावल,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नगर प्रमुख थापालाई साधारण तारेखमा राख्न आदेश दिएको हो । नगर प्रमुख थापाले अदालतमा उपस्थित हुन निवेदन दिएका थिए।थुनछेक बहसपछि अदालतले उनलाई थुनामा नराखी साधारण तारेखमा राख्ने आदेश दिएको हो ।
बागमती माछा पोखरी (भरत ताल) निर्माणका क्रममा भएको ५८ करोड ६२ लाख बराबरको राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दामा अदालतले नगर प्रमुख थापालाई थुनामा नराखी मुद्दाको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० माघ २८ गते बागमती नगरपालिकाका नगर प्रमुख थापा,उप प्रमुख लिला कुमारी मोक्तानसहित १३ जनाविरुद्ध राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।
अख्तियारका अनुसार सागरनाथ वन विकास परियोजना सर्लाहीअन्तर्गत पर्ने क्षेत्रमा बागमती माछा पोखरी (भरत ताल) निर्माणका क्रममा सात करोड ३८ लाख ९३ हजार क्यूफिट वन पैदावार कानुन विपरीत उत्खन्न तथा बिक्री गरी रु ५८ करोड ६२ लाख १४ हजार छ सय ५८ बराबरको राजस्व चुहावट गरिएको थियो।उक्त मुद्दामा नगर प्रमुख थापालाई मुख्य प्रतिवादी बनाईएको थियो ।मुद्दामा सागरनाथ वन विकास परियोजना सर्लाहीका तत्कालीन प्रमुख विशाल घिमिरे, देवेशमणि त्रिपाठी सहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल लगायत १३ जनालाई प्रतिवादी बनाइएको छ।