गणेश खड्का
सर्लाहीको बागमती नगरपालिका ११ स्थित स्व.सन्ताेष श्रेष्ठ स्मृति खेल मैदानमा जारी साताैँ राजर्षि जनक कप फुटबल प्रतियोगिताकाे पहिलो क्वार्टरफाइनल खेलमा साबिक विजेता पिप्ले युवा क्लब हेटौँडा र जावलाखेल युथ क्लब काठमाडाैं भिड्ने भएका छन् ।
जावलाखेल युथ क्लबले प्रि–क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै पिप्लेसँगको भेट पक्का गरेको हो भने लगातार दुई सिजनको साबिक विजेतासमेत रहेको पिप्लेले एक खेल वाई पाएको हो ।
नकआउट प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा विजयी टिमले अन्तिम चारको यात्रा तय गर्नेछ । पराजित टिम उपाधि होडबाट बाहिरिने आयाेजक बागमती युवा क्लबले जनाएको छ ।
दुवै टिम जसरी पनि नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिसहित मैदानमा उत्रिँदै छन् । जावलाखेल खेल जित्दै उपाधि होडमा कायम रहन चाहन्छ भने यो सिजन पनि विजयी हुँदै रनिङ सिल्ड आफ्नो बनाउने दाउमा रहेको पिप्ले आजको नतिजा आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राख्ने पक्षमा छैन ।
साँताै राजर्षि जनक कप फुटबल प्रतियोगितामा एक विदेशी टिम सहित १२ वटा टिमले सहभागिता जनाएका थिए । माघ २५ गतेबाट सुरु भएको प्रतियोगिता फागुन ७ गते सम्म सञ्चालन हुने आयाेजक बागमती युवा क्लबका महासचिब एवम बागमती नगर खेलकुद विकास समितिका संयाेजक सागर मैनालीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । बागमती नगरपालिका र बागमती युवा क्लबले मधेश प्रदेश कै सर्वाधिक धनराशिकाे फुटबल प्रतियोगिता हरेक वर्ष आयाेजना गर्दै आएकाे छ ।