सर्लाहीको बरहथवा नगरपालिका १७ मा आज (मंगलबार) पुनः मतदान हुँदैछ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरे अनुसार आज बिहान ७ बजेबाट मतदान सुरु भएको बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिनु भयो ।
देशैभर स्थानिय निकायको निर्वाचन बैशाख ३० गते एकैसाथ भएको भएपनि केही स्थानमाहरुमा विवाद भएपछि मतदान कार्य स्थगित भएको थियो । जस मध्य बरहथवा नगरपालिका १७ को श्रीपुर पनि रहेको र आज सो वडामा मतदान हुदै गरेको जिल्ला निर्वाचन कार्यालय सर्लहीका निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी(जसपा)पक्षले आफू पक्षीय मतदातालाई बिहानै मतदान गर्न लगाएका र मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आरोप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरुले पुनः मतदानको माग गर्दै उजुरी दिएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले जानकारी दिनु भयो ।
वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा जम्मा १ हजार ९ सय ५४ मतदाता भएपनि त्यहाँ शुक्रबार साँझसम्म ३ सय ७२ मत मात्र खसेको थियो । सो वडाको मतदान नभएका कारण मतगणना कार्य रोकिएको छ ।