मुद्दा कमजोर बनाउने,प्रमाण नष्ट गर्ने र पीडितको साथमा अन्यायपूर्ण व्यवहार गर्ने कार्यमा जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान शाखाका असई भरत यादव सक्रिय रहेका रहस्य बाहिरिएको छ।प्रहरी स्रोत र पीडितका अनुसार असई यादवले केही उच्च प्रहरी अधिकारीहरूसँग मिलेर मुद्दा मिलाउने कार्य गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा पछिल्लो समय घटेका घुसखोरी र अनियमितताका विषयमा पीडित पक्षले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरदेखि प्रहरी प्रधान कार्यालयदेखि उजुरीको खात लागेको छ।सो उजुरी उपर मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले अनुसन्धान शुरु गरेको जनाएको छ।त्यसका लागि एउटा अनुसन्धान टीम नै खटाएर सम्बन्धित फाइल झिकाइसकेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम डीआईजी उमाप्रसाद चतुर्वेदीले बताए ।तर पीडित पक्ष भने हालसम्म दोषी उपर कुनै कारबाही नभएको भन्दै दिनहुँ सामाजिक अभियन्ता र पत्रकारको शरणमा पुग्ने गरेका छन् ।
वादी र प्रतिवादी दुवैसँग आर्थिक लेनदेनका आधारमा कार्य गर्ने,वादी र प्रतिवादी दुवै पक्षसँग घुस रकम नलिएसम्म फाइल लुकाउने तथा रकम पाएपछि वादीले बढी दिएमा झुटा प्रमाण बनाउने र प्रतिवादीले बढी दिएमा सबुद प्रमाण नष्ट गर्ने,बयान इन्कारी गराई मुद्दा कमजोर बनाउने तथा आवश्यक परेमा प्रमाण नै गायब गरिदिने प्रदेश प्रहरी कार्यालयमा दिएको उजुरीमा असई यादवमाथि आरोप लगाइएको छ।उक्त उजुरी आरोप अनुसार असई यादवले जिल्ला प्रहरी कार्यालय रौहतटका प्रहरी नायव उपरिक्षक दीपककुमार राय र प्रहरी निरीक्षक रामकुमार महतोसँग मिलेर लाखौं रकम घुस लिने गरेका र मुद्दाका फाइलहरू आफू वा नजिकका व्यक्तिबाहेक कसैलाई नदेखाउने गरेको उल्लेख गरिएको छ ।
उजुरी अनुसार जुन मुद्दाको पैसा असई यादवले लिन्छन् त्यो मुद्दाको फाइल उ र उसको विश्वासिलो प्रहरी कर्मचारी बाहेक अरूलाई हेर्न पनि दिँदैन र फाइल दराजमा नराखी टेबुलको घर्रामा राखी ताला लगाउने गरेका छन्।यदि माथिल्लो निकायबाट सबैको मुद्दाको फाइल झिकाई अनुसन्धान गर्ने हो भने आफै सबै कुरा खुल्छ,प्रमाण र बयान दिने मान्छेहरू सजिलै भेट्छन्।भन्दै उक्त उजुरीको जिल्ला प्रहरी कार्यालय प्रहरी स्रोतले पनि आरोप सत्यताको नजिक रहेको दावी गरेको छ ।
लागु औषध र हातहँतियार मुद्दामा प्रमाण लुकाइएको
उक्त उजुरीमा ०८१/०८२ को एक गाँजा र हतियार सम्बन्धी मुद्दामा राम नरेश साह पक्राउ परेपछि असई यादवले रु चार लाख घुस लिई उनले साथमा बोकेको मोबाइल फिर्ता गरेको, मोबाइलको डाटा डिलिट गरिएको र प्रमाण नै नष्ट गरिएको उल्लेख गरिएको छ।त्यस मोबाइलमा लागूऔषध कारोबारका स्पष्ट प्रमाणहरू फेला परेको भए पनि ती उपयोग नगरिएको भनिएको छ।
यो मुद्दा नं.२९१ ०८१–८२० लागुऔषध एक सय नौ किलो गाँजा र हातहतियार पिस्टन एक वटा र गोली सात राउण्ड मुद्दामा मिति २०८१ चैत २६ गते सावन गिरी पक्राउ परेका र चार जना फरार भएका थिए।फरार भएका मध्येबाट राम नरेश गाँजा धनी र मुख्य कारोबारी रहेका र उनी २०८२ असार ८ गते गौरबाट पक्राउ परेका,निजको साथमा दुई वटा मोबाइल फोन र चार वटा सिम फेला परेको थियो । जसमा प्रहरी नायव उपरिक्षक रायको आदेशले प्रहरी निरीक्षक महतो र असई यादवले तत्कालै अभियुक्त साहसँग यो मोबाइल बरामद भयो भने १० बर्षसम्म जेल जान्छस् भनि बार्गेनिङ गरी उसैबाट उसको भाईलाई फोन गरी बोलाउन लगाई रु चार लाख लिई मोबाइल बरामद नगरी केही दिन असई यादवको जिम्मामा मोबाइल राखी साहको भाईलाई केही दिन पछि उक्त मोबाइल फिर्ता गरी दिएको उक्त उजुरीमा उल्लेख छ ।
उक्त मोबाइल फाँटमा काम गर्ने अन्य प्रहरी कर्मचारीहरूले पनि तत्कालै हेरेका थिए,त्यसको हवाटसएपमा गाँजाको अर्डर आएको,मूल्य तय भएको,गाँजाको नमूना पठाएको र ३/४ वटा बैंकका भौचरहरु समेत फेला परेको थियो।यस्तो गम्भीर मुद्धाका मुख्य नाइकेलाई नै सबुद प्रमाण प्रहरीले नै नष्ट गरी मुद्दामा ईन्कारी बयान गराई मुद्दा पेस गरेको उजुरीमा उल्लेख छ ।प्रहरी नायव उपरिक्षक राय,प्रहरी निरीक्षक महतो र असई यादवले मात्र पैसा खाने तर मुद्दामा अन्य प्रहरी कर्मचारीहरूले काम गर्ने भएपछि सो रहस्य बाहिरिएको हो ।
बलात्कार मुद्दामा पनि ढिलासुस्ती र सेटिङको आरोप
०८०–८१ कै एक जबरजस्ती करणी मुद्दामा प्रतिवादी खुर्सेद खाँले प्रहरीलाई रु छ लाख घुस रकम बुझाएको र त्यस पश्चात उनी प्रहरीमा हाजिर भएको पाइएको छ।पीडित पक्षलाई जानाजानी ढिला जानकारी दिइएको र पीडितलाई दुव्र्यवहार गरिएको पीडित परिवारले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए।
“मुद्दा नं.४१४/०८०–८१ जबरजस्ती करणी प्रतिवादी खुर्सेद खाँ पैठान मिति २०८२ असार १८ गते सेटिङ मिलाएर प्रहरी र सरकारी वकिलको लागि रु छ लाख नगद असई यादवको हातमा दिई आफै हाजिर भएको,हाजिर भएको १२ दिन पछि मात्र पीडित पक्षलाई प्रहरीले जानकारी गराएको,मुद्दामा प्रेसर नहोस भनि जानीजानी ढिलो जानकारी गराएको,यस सम्बन्धमा पीडित महिला र उसको श्रीमानले प्रहरी निरीक्षक महतोलाई सोधपुछ गर्न जाँदा उनले पीडितहरूसँग अमानविय व्यवहार गरेका”सो उजुरीमा भनिएको छ ।अहिले पीडित पक्ष ४–५ दिनदेखि दिनहुँ प्रहरीमा नगई सामाजिक अगुवाहरु र पत्रकारहरूको घर घरमा गई सहयोगको लागि गुहार माग्दै आएका छन् ।
हत्या मुद्दामा पनि मिलेमतो ?
रौतहट कै राजपुर नगरपालिकाको एक हत्याको घटनामा पनि प्रहरीले पैसा बार्गेनीङ गरेर मुद्दा कमजोर बनाउने काम गरेको आरोप छ।राजपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख शेख सकिलको संलग्नतामा रातारात पैसा लिएर वास्तविक प्रतिवादीलाई नाम परिवर्तनसहित छुटाइएको पीडित पक्षको दाबी छ।
यही आसारको अन्तिम साता रौतहट कै राजपुर नगरपालिका ४ का एकजना करिब ४५ बर्षका शेख असरफको हत्या भएको थियो ।उक्त मुद्धामा राजपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख सकिलको अगुवाईमा प्रहरी नायव उपरिक्षक रायको आदेशमा प्रहरी निरीक्षक महतो र असई यादव रातीको समयमा राजपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख सकिलको घरमा गई असरफको हत्या गर्ने मानिसलाई बोलाई पैसाका बार्गेनीङ गरी रु आठ लाखमा कुरा मिलेको र त्यसबाट रु दुई लाख राजपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख सकिलले लिने र बाँकी रु छ लाख प्रहरीले लिने कुरा पक्का भएको थियो ।
नाम मात्रको कर्तव्य ज्यानको जाहेरी दिनको लागि असई यादवले आफैंले जाहेरी लेखी प्रतिवादीहरुको वास्तविक नाम नलेखी बोलाउने नाम लेखेको र पछि प्रतिवादी प्रमाणित नहोस भन्नका लागि बुबाको नाम फरक पारी लेखेको समेत रहस्य बाहिरिएको छ ।भने प्रहरीकै मिलेमतोमा प्रतिवादीहरुलाई नाटकीय रुपमा भगाइएको उजुरीमा उल्लेख छ।
यता,सो विषयमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा उजुरी परेको र छाविन सुरु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी विजय यादवले बताए।जनकपुर गणका प्रहरी उपरिक्षक नारायण रञ्जितकारको संयोजकत्व छानविन समिति गठन गरी मधेश प्रदेशमा भएको/नभएको पनि धेरै उजुरीहरु आउने गरेकाले वास्तविकता छानविन पछि नै पत्ता लाग्ने उनले बताए ।
त्यस्तै,प्रहरीले घुस खाएका प्रमाण हालसम्म कसैले नदिएको रौतहट जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवम प्रहरी उपरिक्षक नेत्रमणि गिरिले बताए ।उनले मधेश प्रदेश प्रहरी कार्यालयलाई त्यस सम्बन्धमा जवाफ दिइसकिएको,प्रदेशबाट यस्ता धेरै उजुरी उपर जवाफ मागिरहने कुरा नयाँ नभएको बताउँदै,पैसा खाएको त प्रमाणित गर्नुपर्ने होला नि त?उनले कसले पैसा खायो भन्यो त्यो मान्छे को हो ? भन्ने प्रति प्रश्न गर्दै आफ्नो जानकारीमा नभएको दावी गरे।यदि पैसा खाएको भए सम्बन्धितले सजाय भोग्ने बताउँदै उनले मैले दिएको हुँ भन्ने मान्छे पनि चाहिने होला?कारबाहीका लागि कोहीले त भन्नु पर्यो नि मैले पैसा दिएको हुँ भन्यो भने कारबाही हुने उनले बताए।
उच्च प्रहरी तहमा समेत संलग्नता
प्रहरी नायव उपरिक्षक राय,प्रहरी निरीक्षक महतो र असई यादव मात्र होइन,जिल्लाको विशेष कार्य हेर्ने जिम्मा पाएका प्रहरी निरीक्षक सरोज डल्लाकोटीसमेत कमिसन असुलीमा लागेका रहस्य बाहिरिएको छ। यसअघि यो जिम्मेवारीमा रहेका प्रहरी निरीक्षक रुद्र कँडेललाई दिउँसै माद्यक पदार्थ सेवन गरी गोपनीयता भंग गरेको आरोपमा हटाइएको थियो।
प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा अहिले सिनियर अफिसरहरू बीच ठूलो गुटबन्दी चलेको छ। प्रहरी नायव उपरिक्षक रायको गुटमा प्रहरी निरीक्षक कँडेल र महतो रहेका छन भने प्रहरी उपरिक्षक गिरिको गुटमा प्रहरी निरीक्षक डल्लाकोटी र महतो रहेको दावी गरिएको छ ।घुसकाण्डको उजुरी र छानबिनपछि महतोले गुट परिवर्तन गरि प्रहरी उपरिक्षक गिरीको गुटमा लागेको स्रोतको दाबी छ ।पहिले प्रहरी निरीक्षक कँडेल क्राइम टोली भन्दै घुमुवा रहेकोमा हाल प्रहरी निरीक्षक डल्लाकोटीले घुमुवा कमाण्ड सम्हालेको प्रहरी अधिकारीहरु नै बताउँछन् ।
उनको टीममा यसअघि घुमुवा रही अडियो घुसकाण्डमा परि कारबाहीमा परेका सहायक हबल्दार राजकुमार गुरुङले जनकपुर गणमै बसेर रौतहट भरिको तस्करी लाइनको पैसा उठाउने गरेको स्रोतको दावी छ।जनकपुर गणका प्रहरी उपरिक्षक रञ्जितकारले बाहिर हिड्ने छुट दिदाँ सहायक हबल्दार गुरुङ र प्रहरी निरीक्षक डल्लाकोटी चपुर आएर सबै सेटिङ मिलाउने गरेका आरोप छ ।