सीमामा उभिएको गेट आफैं बोल्न सक्थ्यो भने सायद यसो भन्थ्यो—“म त दिनरात यहीँ उभिएको छु, तर मलाई नदेख्नेहरू धेरै छन्।” भन्सारको भवन पनि मुस्कुराउँदै थप्थ्यो—“कागजमा सबै ठीक छ,तर बाटो कतै अर्कै छ।”अनि सुरक्षाकर्मीहरुका कार्यालयहरुले सायद प्रश्न गथ्र्यो—“हामी यहाँ किन छौँ, यदि हाम्रो उपस्थितिले कानुनको पालना सुनिश्चित गर्न सक्दैन भने?”
भन्सार छली कुनै जादू होइन। सामानले आफैं सीमापार गर्ने होइन,ट्रकले आफैं बाटो छान्ने होइन र कागजातले आफैं आँखामा पट्टी बाँध्ने पनि होइन।त्यसैले जब–जब भन्सार छलीका घटना सार्वजनिक हुन्छन्,नागरिकको मनमा स्वाभाविक प्रश्न उठ्छ—यति धेरै जिम्मेवार निकायको उपस्थितिमा यस्तो कसरी सम्भव हुन्छ ?
सीमामा भन्सार कार्यालय छ, सुरक्षाकर्मी छन्, निगरानी संयन्त्र छन्, कानुन छन्, निर्देशन छन् र बैठकहरू पनि छन्। तर कहिलेकाहीँ यस्ता सबै व्यवस्था भएर पनि अवैध कारोबारको चर्चा किन भइरहन्छ? प्रसंग यहीँबाट सुरु हुन्छ। कतै नियमहरू बोर्डमा मात्रै टाँसिएका त छैनन्?कतै चेक पोस्टहरू सवारी गन्ने र कमिसन असुल्ने ठाउँ मात्र बनेका त छैनन? कतै जिम्मेवारी कागजमा मात्रै सीमित त भएको छैन?
नागरिकले सुरक्षाकर्मीलाई सम्मान गर्छन्, किनकि उनीहरू राष्ट्रको सुरक्षा र कानुन कार्यान्वयनका लागि खटिएका हुन्छन्। भन्सारका कर्मचारीबाट पनि राजस्व संरक्षण र कानुनी व्यापारको अपेक्षा गरिन्छ।तर जब अवैध आयात–निर्यातका समाचार दोहोरिन थाल्छन्,तब जनताले प्रश्न सोध्न थाल्छन्।कमी कहाँ छ? निगरानीमा,समन्वयमा,प्रविधिमा कि उत्तरदायित्वमा?
सीमामा कहिलेकाहीँ कागज धेरै जाँचिन्छ,तर व्यवहार कम। फाइलहरू निकै तौलिन्छन्,तर ट्रकहरू कम।बैठकमा प्रतिबद्धता प्रशस्त सुनिन्छ,तर परिणामको हिसाब माग्ने बेला सबै मौन देखिन्छन्।यस्तो मौनताले नै शंका जन्माउँछ, र शंकाले संस्थामाथिको विश्वास कमजोर बनाउँछ।
सुरक्षा निकाय र भन्सार प्रशासन दुवै राज्यका महत्वपूर्ण अंग हुन्।उनीहरूको इमानदारी र व्यावसायिकतामाथि नै राज्यको राजस्व, बजारको निष्पक्षता र कानुनी शासन निर्भर हुन्छ।त्यसैले केही व्यक्तिको कमजोरी भएमा त्यसले सम्पूर्ण संस्थाको प्रतिष्ठामा असर पार्न सक्छ।यही कारण पारदर्शिता, नियमित अनुगमन, आन्तरिक नियन्त्रण र निष्पक्ष अनुसन्धान अत्यन्त आवश्यक हुन्छ।
यदि कुनै ठाउँबाट बारम्बार भन्सार छली भइरहेको छ भने त्यसलाई “सामान्य घटना” भनेर टार्नु समाधान होइन। त्यहाँको कार्यप्रणाली, निगरानी प्रणाली र उत्तरदायित्वको गम्भीर समीक्षा हुनुपर्छ। दोषी जोसुकै भए पनि कानुनअनुसार अनुसन्धान र कारबाही हुनुपर्छ। त्यसले मात्र इमानदार कर्मचारीको सम्मान पनि जोगाउँछ र संस्था प्रतिको विश्वास पनि बढाउँछ।
राज्यले प्रविधिको प्रयोग बढाउन सक्छ—डिजिटल निगरानी, जोखिममा आधारित जाँच, तथ्यांक विश्लेषण, सीसीटीभीको प्रभावकारी उपयोग र नियमित स्वतन्त्र अडिटजस्ता उपायले मानवीय कमजोरी कम गर्न मद्दत पु¥याउँछन्।साथै, इमानदारीका साथ काम गर्ने कर्मचारीलाई प्रोत्साहन र अनियमितता गर्नेहरूलाई निष्पक्ष कारबाही गरिनु समान रूपमा आवश्यक छ।
अन्तिम प्रश्न यही हो—यदि सीमा साँच्चै सुरक्षित छ भने अवैध कारोबार किन दोहोरिन्छ?र यदि अवैध कारोबार दोहोरिन्छ भने सुधारको जिम्मेवारी कसले लिन्छ? यी प्रश्नको उत्तर आरोपमा होइन,पारदर्शी अनुसन्धान,जवाफदेहिता र प्रभावकारी कार्यान्वयनमा खोजिनुपर्छ।सीमा राष्ट्रको ढोका हो।त्यो ढोकाबाट कानुन प्रवेश गर्नुपर्छ, शंका होइन, विश्वास बढ्नुपर्छ, अविश्वास होइन। सुरक्षाकर्मी र भन्सार प्रशासन दुवैले नागरिकलाई यही विश्वास दिलाउन सके भने अवैध कारोबारीहरुले गैर कानुनी रुपमा भन्सार छली समानहरु आयात निर्यात गर्ने हिम्मत गर्न सक्दैनन् र गर्दैनन् ।तर सरोकारवाला निकाय नै कमिसनमा डुबेर मस्त निन्द्रामा हुँदा उत्त कार्य कहिलै रोकिने छैन् ।