सर्लाहीको लालबन्दीका साहित्यकार सुशीला पौडेलले आफ्ना दुई कृति “मुक्तक मनुषी” (मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) सार्वजनिक गर्नु भएको छ । काठमाण्डौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्ना दुई कृतिहरु सार्वजनिक गरेको पौडेलले जानकारी दिनु भयो ।
कृति विमोचन कार्यक्रमका वक्ताहरूले कृतिगत रुपमा उल्लेखनीय उपस्थिति जनाउने उदियमान गजलकार एवम् मुक्तककारका रुपमा परिचय बनाउन सफल पौडेलको आगामी लेखन कार्यको सफलताको शुभकामना व्यक्त गरेका छन् । वर्तमान समयकी सशक्त एवम् उज्ज्वल भविष्य बोकेकी पौडेलको सफल काव्यिक यात्राले लामो फड्को मार्ने छ कार्यक्रमका वक्ताहरुले विश्वस्त व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता एवम् कवि तथा समालोचक डा.गीता त्रिपाठीको सभापतित्व तथा साहित्य क्षेत्रका विशिष्ठ व्यक्तित्व कवि तथा गीतकार दिनेश अधिकारी आख्यानकार डा. भोजराज घिमिरे ,कवि तथा गीतकार चूडामणि देवकोटा , समावेशी आयोगका सदस्य विष्णु ओझा , कवि एस्पी कोइराला, शुष्मारानी देवकोटा तथा सर्जकका मातापिता राधा पौडेल तथा फणीन्द्र प्रसाद पौडेलको आतिथ्यतामा लोकार्पण गरिएको हो ।
मुक्तक नेपाली साहित्यको सर्वप्रिय विधा हुँदाहुँदै पनि सुशीला पौडेलको लालित्यपूर्ण सिर्जनात्मक लेखनकलाले पौडेलले अक्षरको खेतीमा उच्च शिल्पको प्रयोग गरिएकोले पाठकलाई सुरुचिपूर्ण लाग्ने विश्वास आफुले लिएको कार्यक्रममा विमोचित कृतिमाथि समीक्षा गर्दै डा. मुरारी पराजुलीले बताउनु भयो ।