Close This

लालबन्दीमा २५ सैयाको आईसोलेसन वार्ड बन्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-९ गते   ४४० पटक हेरिएको

कोरोना संक्रमण(कोभिड १९ ) का संक्रमितहरुलाई उपचारका लागि लालबन्दी नगरपालिकाले आईसोलेसन वार्ड बनाउने भएको छ । नगरपालिकाको वडा नम्बर ९ मा रहेको प्राथमिक  स्वास्थ्य केन्द्रमा आईसोलेसन वार्डको स्थापना गरि सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ । 
पूर्वपश्चिम राजमार्ग नजिकै रहेको साथै बजारी केन्द्रमा रहेको प्राथमिक केन्द्रमा आईसोलेसन वार्ड निर्माण गर्न लागिएको लालबन्दी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो । 
प्राथमिक केन्द्रमा आवश्यक भौतिक संरचना पनि रहेको साथै स्वास्थ्यकर्मीहरु पनि रहेका कारण प्राथमिक केन्द्रलाई छनोट गरिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । आईसोलेसनको आर्थिक सहयोग नगरपालिकाको रहने छ भने भौतिक पूर्वाधार, प्राविधिक एवं अन्य परामर्शका लागि प्राथमिक स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य शाखाको रहने नगरपालिकाका नगर प्रमु्ख मान बहादुर खड्काले बताउनु भयो ।  
नगरले हाल २५ बेडको आईसोलेसन वार्ड वनाउन लागेको जनाएको छ । आवश्यकता अनुसार बेड संख्या बढाउन सकिने समेत नगरले जनाएको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड १९ ) संक्रमितका लागि आईसोलेसन वार्डको निर्माण गर्न लागिएको र यस कार्यका लागि जिल्ला प्रशासन कार्यालय, सर्लाहीले संमन्वयको भूमिका निर्वाह गरिरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयो । हाल छनौट गरिएको स्थान उपयुक्त एवं पर्याप्त भएको हुँदा एकै स्थानबाट आईसोलेसन वार्ड सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । 
त्यसैगरी सर्लाहीको लालबन्दी नगरपालिकाले अर्को सूचना जारी नभए सम्मका लागि लालबन्दीको हाटबजार बन्द हुने भएको छ । नगरभरीकै भिडभाहुने ठाउँहरु मध्येको एक हाटबजार पनि भएकोले कोराना भाईरस(कोभिड १९ ) को रोकथामका लागि भीडभाड नगर्न सरकारले आग्रह गरेपछि लालबन्दी नगरपालिकाले लालबन्दी कृषि उपज हाट बजार बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता श्रेष्ठले बताउनु भयो ।  चैत १० गते सोमबारदेखि अर्को सूचना जारी नभए सम्मका लागि हाट बजार बन्द  गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech