सर्लाहीमा ट्राफिक व्यवस्थापन कमजोर बन्दै

3.8k Shares

सर्लाहीको लालबन्दी नगरपालिका स्थित लालबन्दीको मुख्य चौक देखि बजार क्षेत्र समेत ट्राफिक व्यवस्थापनको कमजोरीका कारण अस्तव्यस्त बनेको छ । यसले शहरको सौन्दर्यमा ह्रास त ल्याएको छ नै नगरवासीमा समेत हिनता बोध हुन थालेको छ । लालबन्दीको मुख्य चौक पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा खुल्ला पार्किङ गर्ने स्थानको अभावले ट्राफिक व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । 
जिल्लाका बजारहर र मूख्य सडकदेखि बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ गर्ने प्रचलनका कारण मलंगवा,हरिवन र लालबन्दी क्षेत्र कुरुप देखिन थालेको छ । ट्राफिक नियमबारे चेतनाको अभाव, सडकपेटीमा निर्माण सामग्री राख्नुजस्ता कारणले शहर भित्र ट्राफिक व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको देखिएको छ । सडकपेटी र सडक छेउ अहिले सवारीसाधन पार्किङ स्थल र फुटपाथ व्यवसाय गर्ने थलो नै बनेको देखिन्छ । विषेश गरी मलंगवा,हरिवन र लालबन्दीको मुख्य चौक क्षेत्रमा बाटोमै ठेलामा फलफुल बेच्नेहरुको संख्या बढेको देखिएको छ । 
मुख्य चौक क्षेत्रमा अव्यवस्थित सवारीसाधन पार्किङ समेत हुंदै आएको छ । यता मलंगवा,हरिवन र लालबन्दी सडक खण्डमा छाडा चौपाय खुला रुपमा छाडिएकाले सडक क्षेत्रमा सवारी आवगमनमा समस्या हुने गरेको सवारी चालकहरुले गुनासो गरेका छन । यसले दुर्घटनालाई समेत निम्त्याएको उनिहरुको भनाई छ । ट्राफिक प्रहरीले पार्किङ निषेध गरेको स्थानमा नै सवारी धनीहरुले आफना सवारी साधन पार्किङ गर्ने प्रचलन समेत बढेको देखिन्छ । पार्किङ निषेधित क्षेत्रमा अटोरिक्सा,ई–रिक्सा ,मोटरसाइकल जस्ता सवारी साधन पार्किङ गरिएको भएपनि ट्राफिक प्रहरी देखेपनि नदेखे जस्तै गरी बस्ने गरेको स्थानियको गुनासो छ । ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेपनि उनीहरु सवारी चालकको बिलबुक र लाइसेन्स चेकजाँचमा मात्रै व्यस्त देखिएका हुन्छन् ।साथै  ट्राफिक प्रहरी महिनाबारी र हप्ते रकम असुलीमा व्यास्त रहेको सर्वसाधारणहरको गुनासो छ । आँखा अगाडी निषेधित क्षेत्रमा सवारी साधन पार्किङ गरिएपनि ट्राफिक प्रहरीहरुले खासै चासो नदिने गरेको पाईएको छ ।

सम्बन्धित समाचार