दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमती नगरपालिका ११ स्थित स्व.सन्ताेष श्रेष्ठ स्मृति खेल मैदानमा जारी साताैँ राजर्षि जनक कप फुटबल प्रतियोगिताकाे पहिलो क्वार्टरफाइनल खेलमा जावलाखेल युवा क्लबले ३-२ गाेल गर्दै आफ्नाे सेमिफाइनलकाे यात्रा तय गरेकाे छ ।
साबिक विजेता पिप्ले युवा क्लब हेटौँडालाई ३-२ गाेल अन्तरले पराजित गर्दै जावलाखेल युवा क्लब ललितपुरले सेमिफाइनलकाे यात्रा तय गरेकाे हाे ।
जावलाखेल युवा क्लबले प्रि–क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै पिप्लेसँगको भेट पक्का गरेको थियाे भने लगातार दुई सिजनको साबिक विजेतासमेत रहेको पिप्लेले एक खेल वाई पाएर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
नकआउट प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा जित निकाल्दै जावलाखेल युवा क्लबले अन्तिम चारको यात्रा तय गरेकाे आयाेजक बागमती युवा क्लबले जनाएको छ । प्रतियोगितामा पराजित हुँदै साविक विजेता पिप्ले युवा क्लब प्रतियोगिताबाट बाहिरिएकाे बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद विकास समितिका संयाेजक सागर मैनालीले जानकारी दिए।
उनका अनुसार साेमबार हुने दाेस्राे क्वाटरफाइनल खेल सुदुरपश्चिम ११ धनगढी र चर्च व्याईज युनाइटेड ललितपुर विच हुने छ ।
साताै राजर्षि जनक कप फुटबल प्रतियोगितामा एक विदेशी टिम सहित १२ वटा टिमले सहभागिता जनाएका थिए । माघ २५ गतेबाट सुरु भएको प्रतियोगिता फागुन ७ गते सम्म सञ्चालन हुने आयाेजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । बागमती नगरपालिका र बागमती युवा क्लबले मधेश प्रदेश कै सर्वाधिक धनराशिकाे फुटबल प्रतियोगिता हरेक वर्ष आयाेजना गर्दै आएकाे छ ।