सर्लाहीको ईश्वरपुर नगरपालिका १३ स्थित सागरनाथ जंगलमा फेला परेको शिशुको शव एक हप्ता पुग्दा पनि सनाखत हुन सकेको छैन । गत सोमबार ईश्वरपुर नगरपालिका १३ स्थित सागरनाथ जंगलमा टाउको देखिने गरी गाडिएको अवस्थामा अन्दाजी १८ महिनाको शिशुकोे शव फेला परेको थियो ।
उक्त शिशुको शव निकै प्रयास गर्दा पनि सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय केशरगंज,बयलवासले जनाएको छ । असार २० गते साँझ गाई बस्तु चराउन गएका गोठालाले टाउको बाहिरै देखिने गरी गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्कासहित शिशुको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएको छ ।
शिशुको सनाखत हुन नसक्दा परीक्षणसमेत हुन नसकेको इलाका प्रहरी कार्यलय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक रोशन थापाले बताउनु भयो ।प्रहरी निरिक्षक थापाका अनुसार मृतक शिशुले मोटु पत्लुको चित्र अंकित पिंक रंङ्गको हाफ टिसर्ट र जिन्सको पेन्ट लगाएका छन् । घटनाको अनुसन्धान चलिरहेको भन्दै शिशुको पहिचानमा सहयोग पुर्याइदिन प्रहरीले अनुरोध समेत गरको छ ।