मधेश प्रदेशको राजधानी जनकपुरधाममै घर भएका सांसदले पनि प्रदेश सभाबाट घरभाडा बापतको रकम लिइरहेका रहस्य बाहिरिएको छ।२०७९ मा धनुषा क्षेत्र नम्बर ३ प्रदेश सभा(क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका सांसद रामसरोज यादवको घर मधेश प्रदेश सभा भवनबाट डेढ किलोमिटरको दूरीमा रहेको क्याम्पस चोकमा घर रहेको छ ।तर उनले पनि प्रदेश सभाबाट घरभाडा बापतको रकम बुझेका पाइएको छ ।प्रदेश सभा सचिवालयका अनुसार पुर्व मन्त्री समेत रहेका सांसद यादवले अहिलेसम्म नियमित रूपमा प्रति महीना रु १५ हजार घरभाडा वापतको रकम बुझ्दै आएका छन्।
त्यस्तै,मधेश प्रदेश सभामा नेकपा (एमाले)का संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले पनि घर भाडा वापतको रकम बुझेका छन्।जनकपुरधमा तीन वटा घर भएका सांसद ठाकुरले प्रदेश सभाबाट मासिक रु १५ हजार घरभाडा वापतको रकम बुझ्दै आएका छन्।उनी गत निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ प्रदेश सभा(ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।महोत्तरी क्षेत्र नम्बर २ प्रदेश सभा(ख)की प्रदेश सभा सदस्य जनता समाजवादी पार्टी (जसपा), नेपालकी नेतृ सांसद सुरिता साहको पनि जनकपुरधामस्थित भ्रमरपुरा चोकमै घर छ। भ्रमरपुरा चोकमा आलिशान महल बनाएकी सांसद साहले राजर्षिजनक विश्व विद्यालयलाई घर भाडामा लगाएर आफुले प्रदेश सभाबाट घरभाडा वापत मासिक रु १५ हजार घरभाडा बुझ्दै आएकी छन्।
धनुषा क्षेत्र नम्बर २ प्रदेश सभा (ख)बाट निर्वाचित भएका जसपा,नेपालकै प्रमुख सचेतक रामआशिष यादवले पनि जनकपुरधाममा घर हुँदाहुँदै प्रदेश सभाबाट घरभाडा लिने गरेका छन्।यादवको भानु चोक र सीता चोकको बीचमा घर छ।उनले मासिक रु २० हजार घरभाडा बुझ्ने गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। घरभाडा बापत प्रदेश सभा सदस्यलाई मासिक रु १५ हजार र प्रमुख सचेतकलाई रु २० हजार दिने व्यवस्था छ।
समानुपातिक कोटाबाट सांसद बनेकी अञ्जना पण्डितको पनि जनकपुरमा घर छतर आफ्नो घर भाडामा लगाएर सांसद पण्डित राजधानीमा घर हुँदाहुँदै प्रदेश सभाबाट मासिक रु१५ हजार घरभाडा बुझ्ने सांसदको सूचीमा छिन्।त्यस्तै,नेकपा (एकीकृत समाजवादी)का सांसद रत्नेश्वर गोइत यादवको पनि जनकपुरधाम मै घर छ। समानुपातिकबाट प्रदेश सभा सदस्य बनेका यादवले मासिक रु १८ हजार घरभाडा बुझ्ने गरेका प्रदेश सभा सचिवालयको अभिलेखमा उल्लेख छ।उनी प्रदेश मामिला समितिका सभापति हुन्। संसदीय समितिका सभापतिलाई घरभाडा बापत मासिक रु १८ हजार दिने व्यवस्था छ।
प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको अनुसूचीमा सभामुखलाई आवास उपलब्ध गराउने उल्लेख छ।त्यस्तै, उपसभामुख,विपक्षी दलको नेता, सत्तापक्षको सचेतकलाई आवास बापत मासिक रु २० हजार दिने व्यवस्था छ।यसैगरी,संसदीय दलको नेता,सत्तापक्षको प्रमुख सचेतक,विपक्षी दलको प्रमुख सचेतक र संसदीय समितिको सभापतिलाई रु १८ हजार आवास सुविधा दिने ऐनमा उल्लेख छ।अन्य दलका प्रमुख सचेतक र सचेतकलाई रु १६ हजार र सांसदलाई रु १५ हजार दिने व्यवस्था छ।मधेश प्रदेश सभा सचिवालयले उपसभामुखलाई पनि आवास उपलब्ध गराएको छ भने अन्य सांसदले घरभाडा लिने गरेका छन्।
राजधानी जनकपुरधाममा घर नभएका सांसदमध्ये थोरैले मात्र कोठा लिएका छन्। धेरैजसो सांसद प्रदेश सभाको अधिवेशन चलेको समयमा घरबाटै धाउने गरेकोे सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा (क)का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाले बताए ।उनले प्रदेश सभाको बैठक नियमित सञ्चालन नहुने भएकाले अधिवेशनको वेला घरबाटै आउजाउ गर्ने गरेको बताए ।तथापि प्रदेश सभाका सबै सांसदले घरभाडा वापतको रकम लिएका पाइएको छ । मधेश प्रदेश सभा सचिवालयले ऐन अनुसार सबै जिल्लाका ९२ जना सांसदलाई मासिक घरभाडा उपलब्ध गराउँदै आएको जनाएको छ।
मधेश प्रदेश सभामा एक सय सात जना सदस्य छन्।एक जना सांसद निलम्बनमा परेका छन् भने मुख्यमन्त्री र मन्त्री सहित १२ जनालाई आवास सुविधा दिइएको छ।उनीहरूले मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन,२०७५ अनुसार आवास प्राप्त गरेका छन्।सबै सांसदले घरभाडा शीर्षकमा रकम लिने गरेका प्रदेश सभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले बताए।उनका अनुसार प्रदेश सभा सदस्यहरूको सुविधाबारे कानूनमै उल्लेख भएकाले घरभाडा बापतको रकम दिने गरिएको छ।
पहिलो प्रदेश सभाको कार्यकालमा पनि सांसदले घरभाडा बापतको सुविधा लिएको उनको भनाइ छ।त्यति वेला सांसद केवल किशोरी साह कमलले मात्र त्यस्तो सुविधा फिर्ता गरेका थिए।अन्य सबै सदस्यले लिएका थिए।जनकपुरमा आफ्नै घर भएकाहरूले घरभाडा लिन नमिल्ने भन्ने कतै व्यवस्था नभएकाले सुविधा लिइरहेको सांसदहरूको तर्क छ।संघीय संसद्मा समेत यस्तै कानूनी व्यवस्था रहेको र प्रदेशमा पनि सांसदलाई सुविधा दिएकाले घरभाडा लिनु अनुचित नभएको जानकारहरुको जिकिर छ।