Close This

मलंगवा नगरपालिका आफ्नो ३६ औं स्थापना दिवस मनाउँदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१७ गते   १६६ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
सर्लाहीको सबैभन्दा पुरानो तथा पहिलो स्थानीय तह मलंगवा नगरपालिकाले आफ्नो ३६ औं स्थापना दिवस आज र भोली मनाउने भएको छ । विसं २०४१ सालमा स्थापना भएको यस नगरपालिकाले फागुन १७ र १८ (आज र भोली)गते दुई दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरि स्थापना दिवस मनाउन लागेको हो ।
यस अवसरमा फागुन १७ गते(आज)मलंगवा नगर विकास चिन्तन कार्यक्रम अन्तर्गत मलंगवा नगरपालिकाको विकास,सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गरिएको मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार भोली फागुन १८ गते बिहान ११ बजे नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गर्ने,आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्न नगरको बिच भागमा अवस्थित जनसागर पोखरीमा डुङ्गा संचालन गर्ने र खेलकुदलाई बढावा दिन मेयर तथा प्रमुख प्रशासकीय अधिकृत मैत्रीपूर्ण कप फुटबल,म्युजिकल चेयर तथा गाग्री फुटाउने खेल प्रतियोगिताका साथै खुल्ला सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको हो ।
समारोहलाई भब्यताका साथ सम्पन्न गराउन नगरका १२ वटै वडाका जनप्रतिनिधि ,कर्मचारी,स्थानीय संघ÷संस्था,नागरिक समाज,बुद्धिजीवी तथा स्थानीयबासीहरु लागि परेका नगरपालिकाका अधिकृत राजकुमार अधिकारीले जानकारी दिए । संघियता पछि जिल्लामा २० वटा स्थानीय तह रहेकाछन् । जसमा नगरपालिका ११ वटा र गाउँपालिका नौ वटा रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech