सर्लाही ५ पालिकाले साँढे २ करोड राजश्व मधेश सरकारलाई बुझाएनन्

229 Shares

स्थानीय सरकारहरूले नदीजन्य तथा खानीजन्य पदार्थबाट हुने आम्दानी मधेश प्रदेश सरकारलाई नबुझाएका पाइएको छ।मधेश प्रदेशका एक सय ३६ वटा पालिकाहरु मध्य २३ वटा पालिकाहरुले मधेश प्रदेश सरकारलाई  बुझाउनु पर्ने राजश्व वापतको रकम रु ६२ करोड भन्दा बढी राजश्व नबुझाएका महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।मधेश सरकारको आर्थिक ऐनमा नदीजन्य पदार्थ गिट्टी,बालुवा र ढुंगाको स्थानीय तहले ६० र प्रदेश सरकारले ४० प्रतिशत राजश्व बाँडफाँड हुने उल्लेख गरिएको र सो वापतको राजश्व रकम मधेश प्रदेशका २३ वटा पालिकाले नबुझाएका पाइएको हो ।
जसमा देशभर मै सबैभन्दा धेरै २० वटा पालिका रहेको सर्लाहीका पाँचवटा पालिकाले नदीजन्य पदार्थ गिट्टी,बालुवा र ढुंगाको प्रदेश सरकारलाई बुझाउन पर्ने राजश्व रु दुई करोड ५४ लाख १४ हजार राजश्व नबुझाएका पाइएको छ।जसमा इश्वरपुर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ र ०७९/०८० को रु ९२ लाख ५६ हजार,हरिपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ र ०८०/०८१ को रु १७ लाख २२ हजार,लालबन्दी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ को रु ७४ लाख ४२ हजार,बागमती नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को रु ६४ लाख ६० हजारका साथै बसबरिया गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को रु पाँच लाख ३४ हजार गरी कुल रु दुई करोड ५४ लाख १४ हजार नदीजन्य पदार्थ गिट्टी,बालुवा र ढुंगाको राजश्व नबुझाएका पाइएको हो ।
सर्लाहीका २० वटा पालिकाहरु मध्य सबै भन्दा धेरै नदी तथा खानीजन्य उद्योगहरु रहेका यी पालिकाहरुले यती ठूलो राजश्व नबुझाएका पाइएपनि मधेश प्रदेश सरकार यस सवालमा मौन देखिएको स्थानीय जानकारहरु बताउँछन् । यता,स्थानीय तह वित्तीय संघीयतामा जिम्मेवार नहुँदा गर्नुपर्ने राजश्व दाखिला प्रदेश संचित कोषमा नगरेको अर्थ मन्त्रालय मधेश प्रदेशका सचिव रामकुमार महतो बताए ।उनका अनुसार स्थानीय तह वितीय संघीयतामा गैर जिम्मेवार रहेका कारण प्रत्येक वर्ष महालेखा परीक्षकले बेरुजु ठहर्याएको छ।
गत साउन ३० गते मधेश प्रदेशका सबै स्थानीय तहमा अर्थ मन्त्रालयले पत्राचार गरी राजश्व बाँडफाडको रकम प्रदेश संचित कोषमा दाखिला गर्न आग्रह गर्दै अन्यथा अनुदान रोक्का गर्ने चेतावनी समेत दिएको अर्थ मन्त्रालयले जनाएको छ ।त्यस्तै,पहिलादेखि नै राजश्व दाखिला नगर्ने संस्कारका कारण आफूहरूले पनि बुझाउन नसकेको साथै प्रदेश सरकारबाट पनि समयमा खोजी नहुँदा यो अवस्था आएको सर्लाहीका स्थानीय तहहरुका जनप्रतिनिधिहरुले बताएका छन् ।
रोकियो अनुदान
राजश्व नबुझाउने स्थानीय तहहरुको मधेश सरकारले प्रदेशबाट स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान,सशर्त अनुदान,समपुरक अनुदान,विशेष अनुदान र राजस्व बाँडफाँटको रकम रोक्का गरेको छ।स्थानीय तहले संकलन गरी बाँडफाँट गर्नु पर्ने नदीजन्य पदार्थ गिट्टी,बालुवा,ढुंगा,माटो,दहत्तर वहत्तर शुल्क,विज्ञापन कर र मनोरञ्जन कर लगायतका राजस्व संकलन गरी कतिपय स्थानीय तहले कानून वमोजिम वाँडफाँट गरी प्रदेश सञ्चित कोषमा विगत वर्षदेखि नै दाखिला नभएको पत्रमा उल्लेख छ।
“प्रदेशको सम्पूर्ण हिस्सा प्रदेश सञ्चित कोषमा अनिवार्यरुपमा दाखिला हुन अनुरोध गर्दै उल्लिखित रकम दाखिला नभएको देखिएमा प्रदेशवाट तहाँ स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान,सशर्त अनुदान,समपुरक अनुदान,विशेष अनुदान र राजस्व बाँडफाँटको रकम रोक्का राखिने तथा कट्टा गरी समायोजन गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ।” पत्रमा भनिएको छ ।स्थानीय तहहरु कमिसन असुलेर नदीजन्य पदार्थको ठोक्का लगाउने काममा तम्सीने गरेका भएपनि राजश्व दाखिला गर्ने सवालमा मौन देखिएका छन् ।

सम्बन्धित समाचार