Close This

सौर्य सिमेन्टका मजदुर आन्दोलित,उद्योग प्रशासन भन्छ ः मजदुरका माग केही छैनन्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-६ गते   ४२४ पटक हेरिएको

सिरहाको मिर्चैयामा रहेको सौर्य सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरू आन्दोलित भएका छन् । सौर्य सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरू तलब, सुरक्षालगायतका १२ बुँदे माग राख्दै आन्दोलीत भएका हुन । यसअघि उद्योग र मजदुरबीच भएको सहमतिअनुसार तलब, सुरक्षा र सम्पूर्ण सुविधा नदिएपछि मजदुरहरू आन्दोलन गर्न बाध्य भएको मजदुर मोहित महराले बताए ।
उनका अनुसार मजदुरहरूले गत मंसिरमा १२ बुँदे माग राख्दै आन्दोलन गरेपछि उद्योगको व्यवस्थापन पक्ष र मजदुरबीच सहमति भएको थियो ।तर उद्योगले सहमति विपरीत कर्मचारी हटाउने, सेवा सुविधा नदिने लगायतका क्रियाकलाप देखाउन थालेपछि मजदुरहरु पुनः आन्दोलीत भएका हुन ।
माग पूरा गर्न उद्योगको आन्तरिक मेमो
मजदुरको आन्दोलनपछि उद्योगको प्रशासन शाखाले गत मंसिर ६ गते ९ बुँदे आन्तरीक मेमो जारी गरेको थियो । जसमा श्रमिकको न्यूतम पारिश्रमिक,८ घण्टाभन्दा वढी काम गरेकालाई नियमानुसार रकम भुक्तानी गरिने, ८ घण्टा काम गर्दा आधा घण्टा र १२ घण्टाबढी काम गर्दा १ घण्टा अनिवार्य विश्राम दिनुपर्ने,कामदारको कामको प्रकृति हेरी औषधि उपचार, दुर्घटना बिमा, सामाजिक सुरक्षा कोषको सुविधा, सुरक्षा साधन, साप्ताहिक विदा,शौचालय र विश्राम स्थल निर्माण,पिउने पानीको व्यवस्था,प्राथमिक उपचारको निम्ति एम्बुलेन्स,उद्योग परिसरभित्र वातावरण स्वच्छ राख्न हरियाली अभियानको रुपमा वृक्षारोपण कार्य अघि बढाउन र ट्यांकरले सडकमा पानी छर्किने काम गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । 
यसअघि मजदुरले १२ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएपछि उद्योग प्रशासनले उद्योगको आन्तरिक विषय भएकोले छलफल गरी टुंगोमा पुग्नुपर्ने बताएको छ । उद्योगले आन्तरिक मेमो पनि जारी गरिसकेको अवस्थामा आधारभूत माग पूरा हुन नसक्नुले आफूहरु असुरक्षित भएको आन्दोलनरत पक्षको भनाइ छ ।मजदुरहरूको आन्दोलनले उद्योगको कामकाज ठप्प भएको छ । उक्त उद्योगमा १ सय ५० जना नेपाली र २ सय ५० जना भारतीय कामदार कार्यरत रहेका छन् ।
यता,उनीहरुलाई कसले उचालेको छ । उसैले मजदुरको माग सम्बोधन गरोस हामीले मजदुर राखेका छैनौँ । कन्ट्याक्टर मार्फत आएका मजदुरहरुले के सम्झौता गरेका छन्। कन्ट्याक्टरलाई नै जानकारी हुने र त्यसको जवाफ आफुहरुले नदिने उद्योगका प्रशासन प्रमुख जीवन नेपालले बताउनु भयो । उहाँले मजदुरहरुको अहिलेको कुनै माग नरहेको समेत बताउनु भयो । आन्दोलीत मजदुरहरुको विषयमा बुझ्न पुगेका मिडियाकर्मीहरुसंग समेत बोल्न नमान्ने प्रशासन प्रमुख नेपालले अनिश्चीतकालका लागि उद्योग बन्द गरेको र उद्योगमा हुने कुनै प्रकारको क्षेत्तीको समेत जवाफ नचाहिने कुरामा लफडा गर्नेहरुले दिनुपर्ने बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech