सर्लाहीको लालबन्दी बजारमा जम्मा भएको फोहोर तीन साता सम्म नउठेपछि व्यापारी व्यावसायीहरु सास्ती खेप्न बाध्य भएका छन् । लालबन्दी बजारमा फोहोर उठाउँदै आएका ठेकेदारसँगको सम्झौता अवधि गएको साउन मसान्तबाट सकिएपछि बजार क्षेत्रमा संकलन भएको फोहोर उठ्न नसकेको हो । पुरानो ठेकेदारसंगको सम्झौता अवधि सकिएपछि नगरपालिकाले पुन सम्झौता नविकरण नगर्नुका साथै नयाँ ठेकेदारसंग पनि सम्झौता नगरेका कारण बजार क्षेत्रमा संकलन भएको फोहोर नउठेको हो । जसका कारण बजार दुर्गन्धीत भएको छ ।
यस अघि नगरपालिकाभित्रको फोहोरमैला संकलन तथा व्यवस्थापन गर्न ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रा.लि.हेटौंडा,मकवानपुरसँग सम्झौता भएको थियो ।सो कम्पनिका ठेकेदारसँग सुरुमा पाँच वर्ष र त्यसपछि गरिएको थप एक वर्षको सम्झौताको म्याद सकिएपछि नगरपालिकाले नयाँ सूचना जारी गरेको भएपनि नयाँ ठेकेदारसंग सम्झौता नभउकाले फोहोर नउठेको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले जारी गरेको सूचना अनुसार गोकर्णेश्वर सरसफाई काठमाडौँले लालबन्दीको फोहोर संकलन गर्न भन्दै ठेक्का पाएका भएपनि सम्झौता हुन बाँकी रहेको छ ।
नगरपालिकाले बिहीबार एक सूचना जारी गरी यसअघि फोहोर उठाउने ठेकेदारलाई फोहोर लगे बापत कोही नगरवासीले अग्रिम रकम दिएको भए पैसा बुझाएको बीलसहित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ । ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रा. लि.हेटौंडाले फोहोर संकलन तथा व्यवस्थापन सहित केही वडाको नाला सरसफाई बापत मासिक रु एक लाख ५० हजार नगरपालिकाबाट लिँदै आएको भएपनि गोकर्णेश्वर सरसफाई प्रा. लि.काठमाडौँसँग भने उल्टै उसैले वार्षिक रु तीन लाख ५० हजार नगरपालिकालाई बुझाउनु पर्ने गरी सम्झौता हुन लागेको प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।
उनका अनुसार गोकर्णेश्वर सरसफाई प्रा. लि.काठमाडौँले फोहोर उठाउन थालेपछि फोहोर नगरपालिकालाई बुझाउनु पर्ने गरी सम्झौता हुन लागेको हो । फोहोरमैलामा संकलन भएका कवाडी सामग्री बिक्रीबाट आएको रकम र घरघरबाट उठाउने रकम ठेकेदारकै हुने सम्झौतामा उल्लेख गरिने प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । गोकर्णेश्वर सरसफाई प्रा. लि.काठमाडौँले नाला भने सरसफाई गर्नु नपर्ने उनको भनाई छ ।