वन कर्माचारीहरुको मिलेमतोमा व्यापक काठ तस्करी

2.5k Shares

सर्लाहीको सामुदायिक वन क्षेत्रमा काठको व्यापक तस्करी भएको छ । जिल्लाको जानकीनगर र मूर्तिया वन क्षेत्र आसपासका बस्तीबाट काठको व्यापक  तस्करी भएको हो ।वन नजिकका बस्तीमा निगरानी बढाउँदा तस्करी गरेर लुकाइ राखेको सालका गोलिया धमाधम बरामद हुन थालेपछि सो क्षेत्रमा व्यापक मात्रामा काठको तस्करी बढेको पाइएको वन कार्यालयका कर्माचारीहरुले बताएका छन् ।
सव डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको गस्ती टोलीले बरहथवा नगरपालिका ९, मूर्तियास्थित शान्ति टोलमा झाडीभित्र लुकाइ राखेको दुई थान सालको गोलिया बरामद गरेको थियो । विशेष सूचनाको आधारमा त्यहाँ पुगेको वन कर्मचारीको गस्ती टोलीले १३ दशमलव ४८ क्यूविफिट काठ बरामद गरेको छ । सव डिभिजन वन कार्यालय मूर्तिया क्याम्प र सव डिभिजन वन कार्यालय जानकीनगरको संयुक्त टोलीले घुर्कौलीको जङ्गलबाट काठ तस्करीमा प्रयोग भएको दुईथान साइकल र सोही ठाउँको डाँडाटोलको बारीमा लुकाइछिपाइ राखेको सालको ७ क्यूविफिट बराबरको एक थान गोलिया बरामद गरेको थियो ।
त्यस्तै, वन गस्ती टोलीले साउन ११ गते राति जानकीनगर जङ्गलमा कुलोको पानीमा बगाएर चोरी निकासी गर्न लागिएको सालको ५ थान गोलिया बरामद गरेको थियो । त्यसअघि साउन ७ गते सव डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको गस्ती टोलीले बागमती नगरपालिका १० बाट सालको चार थान गोलिया बरामद गरेको थियो ।
विभिन्न ठाउँबाट बरामद गरिएका सालका लाथ्रा तथा गोलिया तत्काल कटान गरेको नभइ केही साताअघि नै तस्करी गरेर लुकाइछिपाइ राखेको जस्तो देखिएको वनका कर्मचारीले बताएका छन् । जानकीनगर र मूर्तिया क्षेत्रको वनमा तस्करी बढेको गुनासो आएपछि त्यस क्षेत्रलाई उच्च निगरानीमा राखेर गस्ती बढाइएको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत मञ्जुर अहमदले बताए ।
कर्मचारीकै मिलेमतोमा काठ तस्करी भइरहेको पाइएपछि केही साताअघि सव डिभिजन वन कार्यालय जानकीनगरका सम्पूर्ण कर्मचारीलाई डिभिजन वन कार्यालयमा तानेर त्यहाँ नयाँ कर्मचारी पठाइएको थियो । झाडी बुट्यान,कूलो,खोल्सालगायतका स्थानमा लुकाएर राखिएको काठ बरामद गर्नुका साथै वनमा थप तस्करी हुन नदिन गस्ती बढाइएको डिभिजन वन प्रमुख अहमदले बताए ।
वन कार्यालयबाट नियमित र प्रभावकारी ढङ्गले गस्ती नहुँदा सर्लाहीको मूर्तिया र जानकीनगरसहित लालबन्दी,सागरनाथ,श्रीनगर,परवानिपुर,पत्थरकोट,नारायणखोला लगायत क्षेत्रका वन क्षेत्रबाट सधैँ जसो काठ तस्करी हुने गरेको छ । वन कार्यालयका कर्माचारीहरु र सामुदायिक वनका पदाधिकारीहरुको मिलेमतोमा सामुदायिक तथा साझेदारी वनक्षेत्रबाट व्यापक मात्रामा काठको तस्करी बढेको हो ।

सम्बन्धित समाचार