सर्लाहीको हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त,अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी घुम्ती शिविरमार्फत गाउँ घरमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नगरका ११ वटै वडामा घुम्ती शिविर सञ्चालन सुरु गरिएको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिनुभयो ।
शारीरिक रूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको साटो घर नजिकै राखिएको घुम्ती शिविरबाट सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रत्येक वडामा कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरिरहेको नगर प्रमुख बुढाथोकीले बताउनु भयो ।
घुम्ती शिविरले वडा कार्यालयमा भीडभाड कम हुनुका साथै नगरका अशक्त,अपाङ्ग र वृद्धवृद्धालाई सहज भएको नगरपालिकाले जनाएको छ । घुम्ती शिविर लिएर वडा सचिव, कार्यालय सहयोगीलगायतका कर्मचारी प्रत्येक बस्तीका घरघरमा पुग्ने र सेवा प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले बताउनु भयो । उहाँका अनुसार शिविरमा खटिएका कर्मचारीहरुले चौतारी तथा रुखका छहारीमा बसेर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति,अशक्त,एकल महिलालगायत सामाजिक सुरक्षा भत्ता खाइपाइ आइरहेका नागरिकहरुको नवीकरण समेत गरिरहेका छन् ।
जसका कारण वडा कार्यालय टाढापर्ने व्यक्तिलाई राहत मिल्नुका साथै अशक्त,अपाङ्ग र वृद्धवृद्धालाई ठुलो राहत मिलेकोे नगर उप प्रमुख हरिमाया घलानले बताउनु भयो ।
जिल्लाका हरेक स्थानिय निकायहरुमा अहिले सामाजिक सुरक्षा भत्ता नवीकरणको काम सञ्चालन भइरहेको छ । हरिवनबाहेक अन्य स्थानिय निकायहरुमा वडा कार्यालयमा मात्रै नवीकरणको काम भइरहेको छ । जिल्लामा २० वटा स्थानिय निकाय रहेका र उनिहरु सबैले बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् । तर बैङ्क र स्थानिय निकाय बीच राम्रो समन्वय नहुँदा बैङ्कबाट भत्ता लिनका लागि घण्टौँसम्म लाईनमा बस्नु परेको लाभान्वित नागरिकहरुको गुनासो छ ।