फागुन २१ गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी ऋषीराम पौडेलले जानकारी दिए ।
उनका अनुसार मतदान केन्द्रहरुमा पठाउनका लागि अहिले चारवटै निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र रुजु गरी प्याकिङ गर्ने काम भइरहेको छ।मतपत्र प्याकिङको काम सकिएपछि मतदान अधिकृतहरुलाई मतपत्र,मतपेटिका र निर्वाचन सामग्री समयमै बुझाएर मतदान केन्द्रमा पठाउन तयारी अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए ।
सर्लाहीका तीन सय १२ मतदानस्थल अन्तर्गत छ सय २८ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित तीन हजार सात सय ६८ जना कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।निर्वाचनमा खटिन काठमाडौंसहित विभिन्न ठाउँबाट सर्लाहीमा थप मद्धतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत आइसकेका छन्।जिल्लामा उपलब्ध तथा थप मद्धतमा आएका प्रहरी प्रत्येक निर्वाचन क्षेत्रमा परिचालन भइसकेका जिल्ला सुरक्षा समिति सर्लाहीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।उनका अनुसार निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ भने विदेशी नम्बरका यात्रु बाहक सवारी साधनहरु सञ्चालनमा पनि रोक लगाईएको छ ।
जिल्ला सुरक्षा समिति र राजनीतिक दलसमेतको बैठकको निर्णय बमोजिम निर्वाचन सम्पन्न नहुदा सम्मका लागि विदेशी नम्बर प्लेटका यात्रु बाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। निर्णय विपरीत सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटका यात्रु बाहक (चार पाङ्ग्रे र मोटरसाईकल) सवारी साधन शुक्रबारदेखि प्रहरीले नियन्त्रणमा लिइरहेको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।
त्यसैगरी,रंङ्गहरुको पर्व होलीका साथै निर्वाचन समेतसंगै रहेकाले सभ्य नागरिकको परिचय दिएर होली मनाउन र गैर कानूनी गतिविधिहरु नगर्न पनि जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुरोध समेत गरेको छ।विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले सामान्य निर्वाचन भन्दा फरक रहने अनुमान गरिएको छ ।