सर्लाहीको ईश्वरपुर नगरपालिका ४ लाई जिल्ला कै पहिलो बालबालिकाको शिक्षामा पहुँच सुनिश्चितता भएको वडा घोषणा गरिएको छ । ईश्वरपुर नगरपालिका ४ सागरनाथका ४ देखि १२ वर्ष उमेर समुहका सतप्रतिशत बालबालिकाहरुको अनिवार्य शिक्षामा पहुँच सुनिश्चितता भए पछि वडालाई जिल्ला कै पहिलो बालबालिकाको सतप्रतिसत शिक्षामा पहूँच सुनिश्चितता भएको वडा घोषणा गरिएको हो ।
ईश्वरपुर नगरपालिका ४ को आयोजना तथा ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको सहयोगमा “वडाका सबै बालबालिकाहरुलाई विद्यालय पठाऔँ,शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ ।” भन्ने नारा सहित अभियान सञ्चालन गरेर ईश्वरपुर नगरपालिका ४ लाई बालबालिकाहरुको सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चितता भएको वडा घोषणा गरिएको ग्रामिण नारी उत्थान संघकी अध्यक्ष गोमादेवी न्यौपानेले बताउनु भयो । नगरपालिका र वडा कार्यालयको विशेष सहयोगमा वडाका ५ सय ५३ जना ४ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई विद्यालय पठाउन सफल भएको अध्यक्ष न्यौपानेले बताउनु भयो ।
गाउँ घरमा रहेका बालबालिकाहरुलाई विद्यालय सम्म कसरी पुर्याउन सकिन्छ,के कारणले बालबालिकाहरु विद्यालय जान सकिरहेका छैनन् र शिक्षित गाउँ कसरी घोषणा गर्न सकिन्छ भन्ने विषयमा मुल्यांकन गरि निरन्तर काम गर्ने ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले बताउनु भयो । उहाँले नेपाल सरकारले ल्याएको आधारभूत शिक्षा अनिवार्य नीतिलाई नगरले कडाइ साथ लागू गर्ने बताउनु भयो ।
जिल्लाका २० स्थानिय निकायका २ सय वटा वडाहरु मध्य सबैभन्दा पहिला इश्वरपुर नगरपालिका ४ लाई बालबालिकाको अनिवार्य शिक्षामा पहुँच सुनिश्चितता वडा घोषणा गरिएको ईश्वरपुर नगरपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद दाहालले बताउनु भयो ।